मंसिर १२ मा ‘हर्ष’

काठमाडौं,
असार १० ।

चलचित्र ‘हर्ष’ आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको यो चलचित्रको सोमबार टाइटल भिडियो र प्रदर्शन मिति सार्वजनिक गरिएको हो । निर्देशक पौडेलले टाइटल भिडियोको सुरुवातमा नै यो फिल्म स्वर्गिय निर्देशक शिव रेग्मी मामाप्रति समर्पित रहेको उल्लेख गर्नुभएको छ । निर्देशक पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुनुहुनछ ।

उहाँले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक गर्नुभएको छ । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गर्नुभएकी निर्देशक पौडेलले यसअघि केही लघु चलचित्रसमेत निर्माण गर्नुभएको छ ।

सम्पूर्ण छायांकन चितवनमा नै गरिएको यो चलचित्रको अहिले धमाधम पोष्ट प्रोडक्सनको काम भइरहेको जनाइएको छ । आफू र आफ्नो टिमले ‘हर्ष’ दर्शकलाई उत्कृष्ट चलचित्र दिने प्रयास रहेको पौडेल बताउनुहुन्छ । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित लगायतका कलाकारको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेख्नुभएको हो । पारिवारिक सामाजिक कथा पस्किने चलचित्रमा आलोक शुक्लाको छायांकन, समीर हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ ।

चलचित्रका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल ररहनुभएको छ । चलचित्रमा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरि बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहनुभएको छ । गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने यो चलचित्रको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार