काठमाडौं,
असार ३ ।
चलचित्र र म्युजिक भिडियोमा देखाइने सुर्तीजन्य पदार्थ सेवनका दृश्य हटाउन वा त्यसको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डेशनद्वारा सोमबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा ‘अनिवार्य’ दृश्यबाहेक यस्ता दृश्य नराख्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार शंकर बिसीलगायत वक्ताले सुर्तीजन्य दृश्यले समाजमा पर्ने प्रभावबारे चिन्ता व्यक्त गर्नुभएको थियो ।
डा. देवकोटाले चलचित्रले जनजीवनमा गहिरो प्रभाव पार्ने भन्दै सर्जकहरूलाई सुर्तीजन्य पदार्थको प्रयोग बिना नै प्रभावशाली दृश्य सृजना गर्न आग्रह गर्नुभयो । ‘हामी अझै पनि राजेश हमालजस्तै देखिन्छु कि भनेर टोपी मिलाउँछौं’, उहाँले भन्नुभयो, ‘त्यो सिनेमाको प्रभाव हो। कलाकारिताले जनमानसमा दीर्घकालीन असर पार्छ।’
चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले पनि चलचित्रले बालबालिकामाथि प्रभाव पार्ने बताउनुभयो । ‘रजनीकान्तले चलचित्रमा चुरोट फ्याँक्ने शैली देखाउँदा म पनि त्यसरी चुरोट फ्याँक्न खोज्थें’, उहाँले भन्नुभयो, ‘त्यस्ता दृश्यले सिधै असर गर्छन् ।’
निर्देशक जनकदीप पराजुलीले भन्नुभयो, ‘हामीलाई प्रहरी, स्वास्थ्य वा अन्य निकायले निर्देशन दिएअनुसार चलचित्र बनाउन भनिन्छ, तर त्यसले सृजनशीलता संकुचित बनाउँछ।’ यद्यपि, उहाँले कथाको आवश्यकतामा आधारित भएर मात्रै यस्ता दृश्य राख्नुपर्नेमा सहमति जनाउनुभयो ।
एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले चलचित्र समाजको ऐना भएकाले कलाकर्मीहरू अझ सचेत हुनुपर्ने बताउनुभयो । ‘चलचित्र र म्युजिक भिडियोमा देखाइने यस्ता दृश्य अप्रत्यक्ष रूपमा सुर्ती उत्पादकको प्रवर्द्धनजस्तै देखिन्छ,’ उहाँले भन्नुभयो ।
म्युजिक भिडियो कलाकार संघका पूर्वअध्यक्ष शंकर बिसीले पछिल्लो समय कलाकारहरूमा सचेतना बढेकाले यस्ता दृश्य कटौती हुँदै गएको उल्लेख गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मीले चलचित्रमा बारम्बार देखिने यस्ता दृश्यप्रति गम्भीर हुँदै कार्यक्रमको अवधारणा अघि सारिएको जानकारी दिनुभयो । उहाँले सुर्तीजन्य पदार्थसम्बन्धी कानुनी प्रावधानहरूबारे पनि जानकारी गराउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले सुर्तीजन्य पदार्थका कारण जनस्वास्थ्यमा पर्ने क्षतिको जानकारी दिँदै, कलाक्षेत्रले जनस्वास्थ्यको पक्षमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चलचित्र, म्युजिक भिडियो क्षेत्रका कलाकार, निर्देशक, स्वास्थ्य मन्त्रालयका अधिकारी तथा स्वास्थ्य विषयमा कार्यरत पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो ।






