✍️ राजन थापा
असार ३, काठमाडौं
काठमाडौं महानगरपालिका-२० स्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा लायन्स क्लब अफ काठमाडौं बागमती ३२५ एचको आयोजनामा तथा ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाको प्राविधिक सहकार्यमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा ५०० भन्दा बढी विद्यार्थीको परीक्षण गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक राधेश्याम प्रधानका अनुसार, शिक्षाले केवल किताबी ज्ञान मात्र होइन, विद्यार्थीको समग्र विकासमा योगदान पुर्याउनुपर्छ भन्ने उद्देश्यले उक्त शिविर आयोजना गरिएको हो । ‘शारीरिक स्वास्थ्य सुधारमा दन्त स्वास्थ्यको विशेष भूमिका हुन्छ’, उहाँले भन्नुभयो, ‘मुख सफा नहुँदा विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् भन्ने सन्देश दिन यो कार्यक्रम गरिएको हो ।’
शिविरमा ॐ समाज डेन्टल अस्पतालका प्रमुख सबिना पपनको नेतृत्वमा दन्त विशेषज्ञ डा. रितिका श्रेष्ठ, डा. वर्षा कार्की, र दन्त सहायक जुनु पण्डितको टोलीले सेवा प्रदान गर्नुभएको थियो । परीक्षणका क्रममा धेरै विद्यार्थीमा दन्तसम्बन्धी समस्या देखिएपछि विद्यालय र अस्पतालबीच औपचारिक सम्झौता (एमओयु) पनि हस्ताक्षर गरिएको थियो ।
सम्झौताअनुसार विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा तिनका परिवारलाई दन्त उपचार सेवामा २० प्रतिशत छुट र दन्त मुकुट निर्माण सेवामा १५ प्रतिशत छुट प्रदान गरिनेछ । सम्झौतामा विद्यालयतर्फबाट प्रधानाध्यापक राधेश्याम प्रधान र अस्पतालतर्फबाट सबिना पपनले हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रमका क्रममा सबिना पपनले विद्यार्थीहरूलाई दन्त सुरक्षा र हेरचाहसम्बन्धी सचेतनामूलक प्रशिक्षण पनि दिनुभएको थियो ।
शिविर व्यवस्थापन तारकेश्वर क्लब–६० का अध्यक्ष राजन थापाले गरेर्नुभएको थियो । उहाँले कार्यक्रममा बोल्दै सम्झौताबाट विद्यालय परिवार, विद्यार्थी र अभिभावक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयले शिक्षासँगै स्वास्थ्य, अनुशासन र संस्कारमा समेत ध्यान दिँदै आएको जनाएको छ । आगामी दिनमा यस्ता सहयोगात्मक र सामाजिक कार्यक्रमलाई निरन्तरता दिने विद्यालयले प्रतिबद्धता व्यक्त गरेको छ ।
शिविरको अवसरमा लायन्स क्लबले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा सहकार्यका क्षेत्रमा योगदान पुर्याउने संस्थाहरू र व्यक्तिहरूलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरेको थियो ।
क्लबकी अध्यक्ष तथा सामाजिक अभियन्ता उषा सिंहले संस्थागत सहकार्यको महत्त्व औँल्याउँदै भन्नुभयो, ‘सामाजिक उत्तरदायित्व निर्वाहमा सबैको हातेमालो आवश्यक हुन्छ । प्राप्त सहयोगको कदर गर्नुपर्छ भन्ने सोचका साथ सम्मान कार्यक्रम आयोजना गरेका हौं ।’
सम्मानितमध्ये ॐ समाज डेन्टल अस्पताल (बनस्थली शाखा), तारकेश्वर क्लब-६०, लायन्स क्लबका पदाधिकारीहरू, चिकित्सकहरू तथा पत्रकार अरबिन्द गौतम र अन्य सामाजिक अभियन्ता पनि रहनुभएको थियो ।
क्लबका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विद्यालयकी शिक्षिका अमिता शाक्यले सहकार्यका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । साथै, क्लबले यस्ता कार्यक्रम भविष्यमा अझ व्यापक रूपमा सञ्चालन गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गगर्नुभयो ।






