काठमाडौं,
वैशाख १८ ।
चलचित्र ‘महाराजधिराज’मा नायक रमेश उप्रेती अनुबन्ध हुनुभएको छ । रमेश मुख्यमध्ये एक भूमिकामा अनुबन्ध हुनुभएको निर्माणपक्षले जनाएको छ । रमेश लामो समयपछि चलचित्रमा फर्किन लाग्नुभएको हो । उहाँ आफैँले निर्माण गरेको चलचित्र ‘ऐश्वर्य’पछि कुनै पनि चलचित्रमा देखिनुभएको थिएन । यसबीचमा केही चलचित्रमा अनुबन्ध भए पनि रिलिज भएका छैनन् । केही गीतका भिडियोमा भने रमेश देखिनुभएको छ ।
‘महाराजधिराज’का निर्देशक परिच्छेद सेन हुनुहुन्छ । चलचित्र ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रमा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्दैहुनुहुन्छ ।
चलचित्रमा निर्देशक सेनकै लेखन रहेको छ । उहाँले यसअघि निर्देशन गरेको चलचित्र ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुनुहुन्छ । उहाँले यसअघि ‘बुलाकी’ निर्माण गर्नुभएको थियो, जसले राष्ट्रिय अवार्डसमेत जितेको थियो । चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहनुभएको छ ।






