काठमाडौं,
चैत २१ ।
युगकवि सिद्धिचरण श्रेष्ठले रचना गरेको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित नाटक रंगमञ्चमा मञ्चन हुनेभएको छ । सनमकुमार बैरागको परिकल्पनामा तयार भएको यो नाटक बेलायत र त्यसपछि नेपालका विभिन्न शहरमा प्रस्तुत गरिने भएको हो । भीमसेन थापा नेपालको पहिलो प्रधानमन्त्री हुनुहुन्थ्यो, जसले राष्ट्रको संरक्षण र स्वाधीनताका लागि अनगिन्ती संघर्ष गर्नुभयो । उहाँको जीवन राजनीतिक उतार–चढाव, सैनिक युद्ध, र व्यक्तिगत संघर्षहरूले भरिएको थियो । भीमसेन थापाको योगदानलाई साहित्यिक रूपमा उजागर गर्ने प्रयास युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो खण्डकाव्य भीमसेन थापामार्फत गर्नुभएको थियो ।
अब यो साहित्यिक कृति मञ्चमा जीवन्त हुन लागेको हो । नाटकको निर्देशन अनुभवी निर्देशक सनम कुमार बैरागले गरेका छन्, जसले भीमसेन थापाको भूमिकामा आफैलाई प्रस्तुत गर्नेछन् । सह-निर्माताको रूपमा दिल घले रहनुभएको छ । करिब चार दशकअगाडि नेपालमा रंगमञ्चमा सक्रिय रहेका निर्देशक बैराग पछिल्लो समय लण्डनमा बस्दै आउनुभएको छ । उहाँले पछिल्लो समय चलचित्र ‘कैदीको पत्र’ निर्देशन गरी नेपालमा समेत रिलिज गर्नुभएको थियो । यसअघि उहाँले सन् २०१६ देखि बेलायतमा नै नाटकहरू ‘समय दृश्य’ र ‘जिगिशा’ मञ्चन गरिसक्नुभएको छ । ‘भीमसेन थापा’ पनि यसअघि बेलायतमा मञ्चन भई सफल रहेको र पुनः मञ्चन हुन लागेको निर्देशक बैरागले बताउनुभयो ।
नाटकलाई अझ प्रभावशाली बनाउन गीतसंगीतलाई विशेष स्थान दिइएको छ । संगीतकार तारा प्रकाश लिम्बुले संगीत भर्नुभएको छ भने गायनमा सपनकुमार राईको आवाज गुञ्जिनेछ । गीतका शब्दहरू सनमकुमार बैरागले लेख्नुभएको छ । नृत्यको संयोजन पनि यस नाटकको अर्को महत्वपूर्ण पक्ष हो । कोरियोग्राफर चरण प्रधानले ऐतिहासिक समयको चित्रण गर्ने शैलीमा नृत्यको निर्देशन गर्नुभएको छ ।
नाटकको मञ्चन बेलायत र नेपाल दुवै ठाउँमा हुनेछ । बेलायतमा अप्रिल २६ देखि मे महिनाभर लन्डन, रिडिङ, विलबीच, अल्डरसट, स्कटल्याण्डलगायत विभिन्न शहरहरूमा मञ्चन हुनेछ । नेपालमा भने काठमाडौंको मण्डला थिएटरमा लगातार १५ शो प्रदर्शन हुनेछ, जुन आगामी दशैँ तिहारपछि सुरु हुनेछ । काठमाडौंको प्रदर्शनपछि पोखरा, चितवन, बिर्तामोड, धरानलगायत शहरहरूमा नाटक मञ्चन गरिनेछ ।
यस नाटकमा अनुभवी कलाकारहरूको टोली रहेको छ । जसमा भीमसेन थापाको भूमिका सनमकुमार बैराग आफैंले निभाउनुभएको छ भने अन्य कलाकारहरूमा सामन्ता तामाङ, सुरेश श्रेष्ठ, गोपाल बस्नेत र सुशन गुरुङ रहनुभएको छ । भीमसेन थापा केवल एक ऐतिहासिक व्यक्तित्वमात्र होइन, उहाँ नेपालका राष्ट्रिय पहिचानसँग जोडिएको नाम हो । उहाँको योगदानलाई पुस्तौं पुस्तासम्म पु¥याउने उद्देश्यले तयार पारिएको यो नाटक नेपाली रंगमञ्चका लागि महत्वपूर्ण हुनेछ ।






