‘ब्ल्याक डाइमन्ड ब्युटिसियन नेपाल’को ताज सुष्मालाई

काठमाडौं,
चैत ९ ।

ब्युटिसियनहरूको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमन्ड ब्युटिसियन नेपाल-२०२५’ ताज काठमाडौँ सुकेधाराकी सुष्मा दाहालले जित्नुभएको छ । ताजसँगै उहाँले एनएफईए अवार्ड २०२५ मा सहभागी हुन जापान जाने अवसर प्राप्त गर्नुभएको छ । उहाँले टाइटल स्पोन्सर ‘ब्ल्याक डाइमन्ड’का तर्फबाट एक लाखको छात्रवृत्ति प्याकेजसमेत प्राप्त गर्नुभएको छ ।

बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रमकी फर्स्ट रनरअप सुशीला राई बन्नुभयो भने प्रीति खड्का सेकेन्ड रनरअप बन्न सफल हुनुभयो । उहाँहरूले क्रमशः पचास हजार र पच्चिस हजारको छात्रवृत्ति प्याकेज प्राप्त गर्नुभएको छ ।
हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम कार्यक्रमको एघारौँ संस्करण हो ।

दुलहीको भेषमा सजिएका सौन्दर्यकर्मीहरूको आकर्षक नृत्यसँगै सुरु भएको कार्यक्रम क्रमैसँग ब्राइडल तथा परिचयात्मक चरण, फेसन सो तथा पोसाक प्रदर्शनी, प्रश्नोत्तर र लिखित गरी विविध चरणमा सम्पन्न भएको थियो ।

अर्वाड विजेता तथा महिलाहरूमा सक्रिय चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पूर्ण प्रतियोगीले करिव तीन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, क्याटवाक, बौद्धिक क्षमता विकासलगायतका विषयमा तालिम लिएका थिए ।

सौन्दर्यकर्मीहरूको पेसागत सौन्दर्य प्रतियोगिता भएकाले कार्यक्रममा विविध पेसागत प्रतियोगिताहरूसमेत गराइएको थियो । जसमा वेस्ट ब्राइडल, सन्जु फागो, वेस्ट मेकअप कल्पना विक, वेस्ट नेलआर्ट सुशीला राई र वेस्ट जुरो गंगा श्रेष्ठले जित्न सफल हुनुभयो ।

कार्यक्रममा विविध सर्ट टाइटल अवार्डसमेत वितरण गरिएको थियो । जसमा मोस्ट इन्टिलिजेन्ट सुष्मा दाहाल, वेस्ट फोटोजेनिक सन्जु फागो, मोस्ट कन्फिडेन्ट प्रीति खड्का, मोस्ट याक्टिभ पवित्रा न्यौपाने, मोस्ट डेलिकेट कोपिला राई, मोस्ट चार्मिङ बबिता राई, मोस्ट डिलिजेन्ट अनिता राई, वेस्ट पर्सनालिटी रमिला कुस्वार, मोस्ट स्मार्ट कला राई, मोस्ट प्यासेनेट सन्ध्या श्रेष्ठ, अट्र्याक्टिभ सुप्रिया सुवेदी, पब्लिक च्वाइस भिडियो प्रीति खड्का, मोस्ट पपुलर रमिला कुस्वार र पपुलर च्वाइस कोपिला राई हुनुभयो ।

कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए भने निर्णायक मण्डलमा नायक एसराज गराज, कस्मेटोलोजिस्ट डा. रेखा थापा, मिसेस नोवेल नेपाल २०१४ सन्ध्या लामिछाने, एस्थेटिसियन डा. युनिसा शाही तथा तथा सौन्दर्यकर्मी अप्सरा न्यौपाने हुनुहुन्थ्यो ।

नेपाली ब्युटिसियनहरूलाई पेसागत विकाससँगै प्रतिभा प्रस्फुटन गराउने एक उचित थलोका रूपमा एक दशकदेखि कार्यक्रम आयोजना गरिरहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार