काठमाडौं,
चैत ४ ।
यही चैत १५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा, अभिनेत्री अञ्जना बराइली, अभिनेताहरू प्रवीण खतिवडा, शिशिर वाङ्देल, साजन श्रेष्ठ, वीरेन्द्र सिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा अधिकारी, रामबाबु रेग्मी, संगीतकार तथा गायक राजनराज शिवाकोटीलगायतको उपस्थिति थियो ।
प्रायः सबै पात्रहरूलाई प्रस्तुत गरिएको ट्रेलर चलचित्रको शीर्षक वरपर घुमेको छ । यसमा डोरीलाई शक्ति रहेको स्थितिमा सबैले खोजी गरिरहेको देखाइएको छ । सोही क्रममा आइपर्ने घटनाक्रमहरू प्रमुखरूपमा उठान गरिएको छ भने पारिवारिक तथा सामाजिक व्यवधानहरूसमेत ट्रेलरमा देखिन्छ ।
ट्रेलरमा केही थ्रिलर तथा हरर दृश्यहरू समेटिएका छन् । निर्देशक अरुण लामाले थ्रिलर र हररलाई ‘दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाएको जस्तो’ तरिकाले राखिएको बताउनुभयो ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुनुहुन्छ भने कार्यकारी निर्माता राज थापा रहनुभएको छ । चलचित्रको स्क्रिप्ट लेखनमा डाक्टर मनोज पण्डित हुनुहुन्छ भने मुख्य सहायक निर्देशकमा दिनेशबहादुर रावत, एक्सन निर्देशकमा राजु तामाङ, संगीत निर्देशकमा राजनराज शिवाकोटी, कला निर्देशकमा रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ र रंग संयोजकमा रेनिश फागो रहनुभएको छ ।






