काठमाडौं,
फागुन २५ ।
१५औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डका पाँच सम्मान घोेषणा गरिएको छ । विन्ध्यवासिनी फाउण्डेशनले शनिबार काठमाडौंमा सम्मानका लागि छलफल कार्यक्रम आयोजना गरी बृहत् छलफलपश्चात् विभिन्न सम्मान र पुरस्कारका लागि संगीतकर्मी र पत्रकारको नाम सिफारिश गर्दै अनुमोदन गरी घोेषणा गरेको हो ।
भेलाले मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ आगामी चैत २८ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न गर्ने निर्णय गरेको छ । फाउण्डेशनका सल्लाहकारहरू गीतकार किरण खरेल र दिनेश अधिकारी तथा संगीतकार दीपक जंगम र शक्ति बल्लभको समितिले यस वर्षको विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड नगद एक लाख रुपैयाँसहित गीतकार राजेन्द्र थापालाई प्रदान गर्न सिफारिश गरेको छ ।
सल्लाहकार समितिले विन्ध्यवासिनी संगीतसाधना सम्मान नगद ५० हजार रुपैयाँसहित गायिका संगीता शाक्यलाई तथा मूर्धन्य गायक प्रेमध्वज प्रधानको नाममा स्थापित २५ हजार रुपैयाँसहित प्रेमध्वज संगीत रत्न सम्मान गायिका निशा देशारलाई प्रदान गर्न सिफारिश गरेको छ । त्यसैगरी लोक गायक झलकमान गन्धर्वको नाममा स्थापित यस वर्षको झलकमान लोक-संगीत सम्मान २०८१ गायक शिरिष देवकोटालाई प्रदान गर्न सिफारिश गरेको छ ।
त्यसैगरी, यस वर्षको विन्ध्यवसिनी कला पत्रकारिता सम्मान नगद २५ हजार रुपैयाँसहित पत्रकार शारदा थापालाई प्रदान गर्न सिफारिश गरिएको छ । फाउण्डेशनले हरेक वर्ष अवार्ड आयोजना गर्नुअघि संगीतकर्मी र पत्रकारको विशेष भेला आयोजना गरी सम्बन्धित संगीतकर्मी र पत्रकारबाट सिफारिस नाम अनुमोदन गरी घोषणा गर्दै आएको छ । फाउण्डेशनका सचिव परमानन्द खनालद्वारा सञ्चालित भेलामा फाउण्डेशनका सञ्चालक सुवास रेग्मीले स्रष्टा सम्मानको १५ वर्षको अविछिन्न यात्रामा साथ दिने सवैलाई आभार प्रकट गर्दै यस वर्षको समारोह थप भव्य गर्ने तयारीमा रहेको सुनाउनुभएको थियो ।






