काठमाडौं,
फागुन १४ ।
बाल गायिका सुदेशना शाक्यको स्वरमा ‘ॐ नम: शिवाय:’ बोलको शिव भजन सार्वजनिक भएको छ । नेपाली सङ्गीत उद्योगमा करिब दुई दशकदेखि सक्रिय चर्चित सङ्गीत संयोजक साहस शाक्यले महाशिवरात्रिको अवसर पारेर आफ्नी छोरी सुदेशनाको स्वरमा उक्त भजन सार्वजनिक गर्नुभएको हो । शिव भजनमा सङ्गीत संयोजन र मिक्सिङ-मास्टरिङ साहसले नै गर्नुभएको छ । काठमाडौँको डी ए भि स्कुलमा कक्षा ४ मा अध्ययनरत सुदेशना शाक्यले यसअघि ‘बिच्च बिच्चमा’, ‘५ बुद्धा मन्त्र’, ‘नेपाली क्रिकेट जिन्दाबाद’, ‘छुनुमुनु ’ जस्ता गीतहरूमा आफ्नो स्वर दिइसक्नुभएको छ । ।
साहसले नेपाली चलचित्र सङ्गीत र पार्श्व सङ्गीतमा विशेष पहिचान बनाइसक्नुभएको छ । चलचित्र ‘ठूली’ को टाइटल गीत “म त मर्छु कि क्या हो ठूली“, चलचित्र ‘प्रकाश’ को “क्या बाँचौला“, प्रकाश तिमिल्सिनाको ’प्रिय तिम्रो सिउँदोमा’, ‘म मर्न जाँदै छु’ जस्ता गीतहरू विशेष रूपमा लोकप्रिय भएका छन् ।
त्यस्तै, उहाँका सङ्गीत संयोजनमा बनेका ‘क्या दामी भो’, ‘हङ्गामा भो’, ‘जिन्दगी यो फुलै फुलको थुँगो हुँदैन’, ‘बेहुला बनाउँछु भन्थी’, ‘बिच्च बिच्चमा’, ‘बहिस्कार’ जस्ता गीतहरू नेपाली सङ्गीत प्रेमीहरूले अत्यधिक रुचाएका छन् । उनका सङ्गीतमा थुप्रै ख्यातिप्राप्त गायक-गायिकाहरूले गीत गाइसकेका छन्, जसले नेपाली सङ्गीत उद्योगमा नयाँ उचाइ थपेको छ।
गीत सुदेशना इन्टरटेन्मेन्ट स्टुडियोमा रेकर्ड गरिएको हो र सुदेशना इन्टरटेन्मेन्ट को प्रस्तुति रहेको छ । गीत आधिकारिक युट्युब च्यानल ‘मुक्ति मन्त्र शक्ति’ बाट सार्वजनिक गरिएको हो ।






