काठमाडौं,
फागुन ७ ।
पहिलोपटक नेपालले लोकतान्त्रिक राज्य प्रणालीको सूर्योदय देखेको दिन आज । ००७ देखि अहिलेसम्म वर्षका हिसाबले ७४ वर्ष पूरा भएको छ । आज (बुधबार) ७५औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । जनक्रान्तिका माध्यमबाट १०४ वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ ।
यस अवसरमा आज देशभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ यो दिवस मनाइँदै छ । आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै छ । आज नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिनेछ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिनेछ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा मोओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूले शुभकामना सन्देश जारी गर्नुभएको छ ।






