‘हन्टर’ पोस्टरमा अरुण

काठमाडौं,
माघ २४ ।

चलचित्र ‘महापुरुष’बाट अभिनेताको रुपमा डेब्यु गर्नुभएका अरुण क्षेत्री अब एक्सन चलचित्र ‘हन्टर’मा देखिने तयारीमा हुनुहुन्छ । बुधबार उहाँको जन्मदिनको अवसर पारेर क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनाव मुद्रामा देखिनुभएको छ । उहाँको अनुहारमा चोटको निशान छ । यसले चलचित्रमा उहाँ एक्सन भूमिकामा देखिन लागेको संकेत गर्छ ।

जीवन सिंहको निर्देशनमा बन्न लागेको चलचित्रको गत भदौमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको थियो । यतिबेला प्रि–प्रोडक्सनमा रहेको यो चलचित्रमा अरुणबाहेक अन्य कलाकारको बारेमा जानकारी गराइएको छैन ।
क्याच कक इन्टरटेनमेन्टले ट्राइडेन्ट कन्सेप्टसँग निर्माणमा सहकार्य गरेको ‘हन्टर’ सुदूरपश्चिमको कथामा बन्नेछ । निर्देशक सिंहका अनुसार चलचित्र वास्तविक पात्रको कथाबाट प्रभावित भएर बन्न लागेको हो ।

ममता सिंह र राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द र गोविन्द राज सहनिर्मातामा हुनुहुन्छ । कार्यकारी निर्माता भने रोयल भीमसेन हुनुहुन्छ । उहाँ पोस्टर डिजाइनरको रुपमा परिचित हुनुहुन्छ । ‘हन्टर’को अर्थ शिकारी भन्ने हुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार