एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न

काठमाडौं,
पुस २६ ।

एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न भएको छ । काठमाडौंमा भएको नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना रहेको कार्यक्रममा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त, वरिष्ठ कलाकार नीर शाह, सुनिल थापा, केदार घिमिरे (माग्ने बुढा) लगायत नेपाली फिल्म, साहित्य क्षेत्रका व्यक्तित्व, चिनियाँ फिल्ममेकर र कलाकारको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री पुनले नेपालमा पहिलो पटक आयोजित ‘चाइना फिल्म डे’ मा सहभागी हुन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताउनुभयो । उहाँले चाइना फिल्म डे सांस्कृतिक सम्बन्धको उत्सव भएको बताउँदै फिल्ममार्फत दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम केवल फिल्म हेर्ने मात्र नभई दुई देशबिचको सम्बन्ध ठूलो कुराको लागि एउटा सुरुवाती प्रवेशद्वार रहेको बताउनुभयो । ‘नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ र यस्तो कार्यक्रमले चलचित्रमार्फत आगामी सम्बन्धलाई अगाडि बढाउने एउटा महत्त्वपूर्ण कदम पनि हो,’ उहाँले भन्नुभयो ।

चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले नेपाल एउटा सुन्दर देश र प्राचीन सभ्यता भएको देश रहेको बताउनुभयो । ‘हामी आशा गर्छौ कि यस फिल्म डेबाट चाइना र नेपाल बीचको फिल्म क्षेत्रमा हुने उपयोगको सहकार्यमा अझ राम्रो सम्बन्ध बन्दै जानेछ’, उहाँले भन्नुभयो ।

चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले हालका बर्षहरुमा चीनका फिल्मका लागि विश्वको ठूलो बजार भइसकेको र नेपालमा समेत चिनियाँ फिल्म छायाङ्कन भएको सन्दर्भ उल्लेख गर्दै भन्नुभयो, ‘अघिल्लो वर्ष नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालमा २०२५ मा चिनियाँ फिल्म फेस्टिभल गर्ने सम्झौता भएको थियो ।’ दुई देशबीच उत्सव शृङ्खलाको रूपमा यस चीन फिल्म डे कार्यक्रमले दुई देशका फिल्म निर्माता बिचको सहयोग आदान प्रदानसमेत गर्ने उहाँले बताउनुभयो ।

‘चाइना फिल्म डे’मा सहभागीको लागि १४ सदस्यीय टोलीको नेतृत्व गर्दै चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङ सहित चर्चित फिल्म ‘जी फर ग्याप’ की अभिनेत्री तथा दुई पटक गोल्डेन रुस्टर अवार्ड विजेता यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ, फिल्म ‘पर्सनल पर्सिसटेन्स’का निर्देशक जिङ जिआओ, ‘लाइफ अफ लुओसाङ’ का पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, फिल्म ‘मिडसमर भोइस’ का निर्देशक झाङ युडी लगायतका टोली नेपाल आउनुभएको छ ।

क्यूएफएक्स सिनेमाको छाया सेन्टरमा आयोजित ‘चाइना फिल्म डे’ मा ३ चिनियाँ फिल्म हुई साओ निर्देशित ‘हर स्टोरी’, युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन गरिएको थियो । चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गरेका हुन् ।

अभिनेत्री यु होङले कार्यक्रममा सहभागी हुन पाउँदा निकै लागेको बताउँदै कार्यक्रमले दुई देशलाई अझ नजिक ल्याउने बताउनुभयो । कार्यक्रममा प्रदर्शित तीनवटै चलचित्रका निर्माता, निर्देशक र कलाकारले दर्शकसँग अन्तरक्रिया गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार