भक्तपुर,
पुस २२ ।
पाँचौं संस्करणको फेसन डिजाइनरहरूको मेघा प्रतियोगिता ‘द नेशनल डिजाइनर रन वे २०२४’ को उपाधि प्राङ्देन हानी लिम्बुले चुम्नुभएको छ । भक्तपुरमा शनिबार साँझ भएको प्रतियोगितामा उहाँले उक्त उपाधि चुम्नुभएको हो ।
१४ जना फेसन डिजाइनरहरू प्रतिष्पर्धी रहेको प्रतियोगितामा सबी श्रेष्ठ ‘फस्ट रनर अप’ हुँदा ओमान कोमेन जुकान्द्री ‘सेकेण्ड रनर अप’ हुनुभयो । त्यस्तै सजिना मोनिकर ‘मष्ट पपुलर’ हुनुभयो । विजेताहरूलाई प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा राना, निर्णायकहरू र आयोजक टोलीका सदस्यहरूले ताज तथा विभिन्न पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतिमा भएको हो । राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा भएको प्रतियोगितामा आइआइएफटी, एनसिएफटी र आइइसीका फेसन डिजाइनरहरूले सहभागिता जनाएका थिए ।
डिजाइनरले डिजाइन गरेका पहिरनलाई ३८ मोडलहरुले र्याम्पमा प्रस्तुत गरेका थिए । प्रतियोगितामा फेसन विज्ञहरू मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र फेसन विज्ञसमेत रहनुभएकी नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायक रहनुभएको थियो ।
फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा भएको प्रतियोगितामा सञ्जिव कसजुले बजार व्यवस्थापन, परमानन्द चौधरीले इभेण्ट व्यवस्थापन र शैलेश नेपालीले इभेण्ट संयोजकको रुपमा काम गर्नुभएको थियो ।






