काठमाडौं,
पुस १२ ।
चलचित्र ‘दुखी आत्मा’को जापान वितरण अधिकार बिक्री भएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो चलचित्रको जापान वितरण अधिकार बिक्री गरिएको हो ।
यो चलचित्रलाई जापानमा यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यूएनएका प्रमुख उज्ज्वल गुरागाईंले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले खरिद गरेको बताउनुभयो । निर्माण टिमले कति रकममा चलचित्रको अधिकार विक्री गरेको हो भन्ने बिषयमा खुलाएको छैन ।
यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय छ । नेपालमा फागुन २ गतेबाट रिलिजमा आउन लागेको चलचित्रलाई जापानमा पनि सोही मितिमा रिलिज गरिने यूएनएले जनाएको छ ।
सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो चलचित्रमा हिमाल कडरियाको लगानी छ । क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रलाई आलोक शुक्लाले खिच्नुभएको हो भने निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ ।






