‘ऊनको स्वीटर’को ‘मखमली’ (भिडियोसहित)

काठमाडौं,
पुस १२ ।

चलचित्र ‘ऊनको स्वीटर’मा समावेश गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । सुजन चापागाईं र सुनिता थेगिमको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुजनकै संगीत छ । यसका संगीत निर्माता कोविद बज्र हुनुहुन्छ ।

दीप गुरुङको कोरियोग्राफीमा कौडा भाकामा आधारित गीतको भिडियोमा अभिनेता विपिन कार्की, अभिनेत्री मिरुना मगर र अभिनेता विल्सन बिक्रम राईलाई प्रस्तुत गरिएको छ ।

आगामी बैशाख २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई नवीन चौहानले निर्देशन गर्नुभएको हो । यो उहाँको पहिलो निर्देशकीय चलचित्र हो । यसअघि उहाँले ‘घुमी घुमी’, ‘तीन पाते’, ‘फूलथुङ्गे रानी’ जस्ता म्युजिक भिडियो निर्देशन गरिसक्नु भएको छ । चलचित्रमा विपिन, मिरुना र विल्सनसहित सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदा देवी सिलवाल लगायतको अभिनय छ ।

चलचित्रलाई निर्देशक चौहानले नै लेख्नुभएको हो भने उहाँलाई लेखनमा सुरज कटुवालले सघाउनुभएको छ । यसमा चिन्तन राजभण्डारीको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन छ । आर्टमाण्डूको निर्माण रहेको चलचित्रको कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री हुनुहुन्छ । चलचित्रमा समावेश गीतहरूमा सुजन चापागाईंसहित झुमा लिम्बू, सुनिता थेगीम र सलिना बिकले स्वर दिनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार