काठमाडौं,
मंसिर २६ ।
साहित्यिक पत्रकार संघले वरिष्ठ सर्जक मोहन सिटौला (अमेरिका)लाई अभिनन्दन र कवि सुरेन उप्रेती (क्यानडा)लाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । इतिहासविद् प्राडा सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उहाँहरूलाई सम्मान अर्पण गरिएको हो । उहाँहरूलाई सम्मानपत्र, सापस स्वर्ण महोत्सवको मेडल, दोसल्ला, माला र टोपीले सम्मान अर्पण गरिएको थियो । दर्जनौं कृतिका सर्जक मोहन सिटौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष र कवि सुरेन उप्रेती पूर्व महासचिव हुनुहुन्छ ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि केसी, अध्यक्ष लेकाली, प्राज्ञ बाबा बस्नेत, सम्मानित सर्जकहरू मोहन सिटौला र सुरेन उप्रेती, डा. दामोदर पुडासैनीले विशेष मन्तव्य राख्नुभएको थियो ।
कवि मुरारी सिग्देलले सहजीकरण गर्नु भएकोसो कार्यक्रममा गीतकार एवं समाजसेवी शोभित उप्रेती, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानकी काव्य विभाग प्रमुख प्राज्ञ बाबा बस्नेत, भ्रष्टाचार विरुद्धका अभियन्ता हेम पाठक, समालोचकहरू प्रमोद प्रधान र प्राडा. गोविन्दमान सिंह कार्की, अनेसास केन्द्रीय सदस्यहरू तारा उप्रेती (क्यानडा) र सुमन वर्षा, अनेसास केन्द्रीय समितिका पूर्व महासचिव गणेश घिमिरे, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, पत्रकार सुरेश आचार्य, साहित्यकारहरू युवराज नयाँघरे, विमल भौकाजी, डा. हरिप्रसाद सिलवाल, ठाकुर वेलबासे, राजेश खनाल, रुद्र अधिकारी, रितु कँडेल, नीता श्रेष्ठ लगायतको उपस्थिति थियो ।






