कतार एयरवेजले आजदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै

काठमाडौं,
कात्तिक २७ ।

कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले आज (मंगलबार)देखि भैरहवामा दैनिक उडान भर्न लागेको हो । योसहित मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको सङ्ख्या पाँच पुगेको छ ।

विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजीरा एयर र फ्लाइ दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् । गौतमबुद्ध विमानस्थलबाट पहिलो पटक यही कात्तिक १४ गते एकै दिन तीनवटा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको थियो । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो ।

यस्तै फलाई दुबईले कात्तिक २४ गतेदेखि भैरहवा विमानस्थलमा उडान सुरु गरेको थियो । हप्ताको सातै दिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा-काठमाडौं–दुबई उडान गर्न लागेको हो ।

नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान सञ्चालन गरिरहेको छ । विसं २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो । दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरुप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको विमानस्थलले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार