मनसुन बाहिरिएसँगै तापक्रम घट्ने क्रममा

काठमाडौं,
असोज २८ ।

देशभरबाट मनसुन बाहिरिएसँगै तापक्रम घट्ने क्रम बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाको आज (आइतबार) न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, हिजो शनिबार १६.५ डिग्री सेल्सियस थियो ।

यस्तै शनिबार २८.३ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज २८ डिग्री सेल्सियसमा झरेको छ ।
समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ ।

नेपालबाट मनसुन हिजो असोज २६ गते (अक्टोबर १२ तारिख) पूर्ण रूपमा बाहिरिएको हो ।

मनसुन बिदा भएसँगै पोस्ट मनसुन सिजन सुरु भएको मौसमविद्ले बताएका छन् । मनसुन बिदा भइसकेको र विन्टर आउनुअघिसम्मको अवधिलाई पोस्ट मनसुन भनिन्छ ।

यो सिजन नोभेम्बरसम्म रहने र डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्ने मौसमविद् बताउँछन् । यसैले अब मौसम बिस्तारै चिसोतर्फ ढल्किएको हो ।

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव : थोरै वर्षाको सम्भावना
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । अहिले कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसमा तपाइको मत

अन्य समाचार