काठमाडौं,
असोज २० ।
वरिष्ठ सङ्गीतकार राजु सिंहद्वारा सङ्गीतवद्ध सुगम सङ्गीतमा आधारित आधुनिक गीत ‘तिमीलाई चाहेर’ सार्वजनिक भएको छ ।
गीतकार पद्मवती सिंहका शब्दहरूको यो गीतमा गायिका सविता ढुंगानाको स्वर सुन्न सकिन्छ । महाराज थापा यो गीतका सङ्गीत संयोजक हुनुहुन्छ ।
करिव १६ वर्ष अगाडि नै रेकर्डिङ भएको यो गीतलाई अहिले केही परिमार्जन गर्दै नयाँ गीतको रुपमा तयार पारिएको हो । पुराना लोक सङ्गीत तथा पुराना गीत-सङ्गीतलाई संरक्षण गरौं भन्ने उद्देश्यका साथ १६ वर्ष अगाडि रेकर्डिङ भएर थन्किएको गीतलाई अहिले आएर दर्शक तथा स्रोतामाझ ल्याउन पाएकोमा सङ्गीतकार राजु सिंहले खुशी व्यक्त गर्नुभएको छ ।
कृष्णदेव रुपाखेतीद्वारा निर्देशन गरिएको यो गीतको भिडियो आकर्षक बनेको छ । भिडियोमा अभिनेत्री नम्रता सापकोटा तथा मोडल विमल अधिकारीको जोडिलाई प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायांकनमा बनेको यो भिडियोलाई मिन रावलले सम्पादन गर्नुभएको हो ।






