काठमाडौं,
असोज ७ ।
यही शुक्रबारदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण कम्पनी लामा सिनेमाजले झण्डै साढे दुई मिनेट लामो ट्रेलर युट्युवमार्फत सार्वजनिक गरेको हो । जौन योञ्जनको निर्देशन रहेको चलचित्रको ट्रेलरमा दुई प्रमुख कलाकार अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहता केन्द्रमा हुनुहुन्छ ।
बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई चलचित्रले भावनात्मक रूपमा उठान गरेको छ । सुकुम्बासी बस्तीमा बस्दै आएको घर सम्पतिविहिन दम्पतिले जीविकोपार्जनका लागि गर्नुपरेको संघर्ष र त्यो बीचमा उत्पन्न परिस्थितिलाई चलचित्रको कथावस्तु बनाइएको छ ।
लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको चलचित्रमा स्मिता र आरकेसँगै विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राई मुख्य अभिनय छ ।
निर्देशक योञ्जनकै कथा, पटकथा रहेको चलचित्रको निर्माता पनि योञ्जन नै हुनुहुन्छ भने नारायणप्रसाद बराल कार्यकारी निर्माता र राम बस्नेत लाइन प्रोड्युसर हुनुहुन्छ भने सह-निर्मातामा रेनुका कार्की ढोली रहनुभएको छ । चचित्रमा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको यो चलचित्रमा दीपक आरजे र जयन जे वाइवाको संगीत छ । चलचित्रलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।






