काठमाडौं,
साउन ३१ ।
सिन्धुली, कमलामाई नगरपालिका-२ चियाबारी नजिक सडकमा नाकाजोलीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.२० च ८२८३ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा गोलान्जोर गाउँपालिका-६ नाकाजोली बस्ने ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदयबहादुर मस्राङ्गी मगर र ३५ वर्षीय पवन मस्राङ्गी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका बोलरोमा सवार ११ जना मध्ये अन्य सात जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने चार जनालाई थप उपचारको लागि धुलिखेल रिफर गरिएको छ ।
यस्तै, भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना.६ ख २१७३ नम्बरको ट्रकले बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका स्कुटर चालकको घटनास्थलमै मुत्यु भएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






