काठमाडौैं,
साउन ८ ।
भदौ ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘सतीदेवी’ ले महिला तथा बालिकामा समर्पित गरि फोटो प्रतियोगीता ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ ।
निर्माण टिमले मौलिकता झल्किने फिल्मको एउटा ग्रुप फोटो सार्वजनीक गर्दै सोही थिम अनुसारको फोटो पठाउन आव्हान गरेको हो ।
फोटोमा ‘सतीदेवी’ की शीर्ष अभिनेत्री मलिका महत, सृजना अधिकारी, सुजीता शिवाकोटी र तीन बालिका कलाकार-हर्षिका वली, मञ्जिला बानियाँ र समृद्धि सेन्चुरी घरको पीढीमा लस्करै बसेर एकअर्काको ठुङ मारिरहेका छन् ।
प्रतियोगीतामा सहभागी हुनका लागि परिवारका महिला सदस्यले सँगै बसेर ठुङ मार्दै गरेको एउटा फोटो खिचेर आफ्नो फेसबुक र इन्टाग्राममा ‘फिल्म ‘सतीदेवी’ ०७ भदौबाट प्रदर्शन हुदैछ’ भन्ने क्याप्सन लेखेर पोस्ट गरी फेसबुक पेज Sati Devi Nepali Movie (सतीदेवी) मा ट्याग/मेन्सन गर्ने र इन्बक्समा पठाउनु पर्ने छ ।
त्यसैगरी, @Laxmanzee इन्टाग्राममा अनिवार्य ट्यागरमेन्सन गर्नुपर्ने छ ।
प्राप्त फोटोहरू मध्ये प्रथम स्थान हासिल गर्ने एउटा फोटोलाई २० हजार, दोस्रोलाई १०, हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार अनलाइनमार्फत प्रदान गरिने निर्माण कम्पनी दिलासा कृएसनले जनाएको छ ।
फोटो पठाउने अबधि साउन ३१ गते रातीसम्म तोकिएको छ भने फोटो प्रतियोगीताको निर्णय ०३ भदौमा हुने र बिजेतालाई सोही दिन नगद पुरस्कार उपलब्ध गराइने बताइएको छ ।
फिल्म नारी प्रधान कथामा भएको तथा नारीहरूको महान् पर्व तीज नजिकीरहेकाले उहाँहरूको सम्मानमा यो प्रतियोगीता आयोजना गरिएको निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीले बताउनुभयो ।
‘‘सतीदेवी’ पूर्णरुपले छोरी, नारी प्रधान कथामा छ । त्यसकारण उहाँहरूको सम्मान तथा अधिक सहभागीताका लागि यो प्रतियोगीता गरेका हौ,’ निर्देशक सुवेदीले भन्नुभयो ।
प्रदर्शन पूर्व नै बिभिन्न उत्कृष्ट अवार्ड जितिसकेको ‘सतीदेवी’ निरन्तर चर्चामा छ ।
मलिकाका साथमा कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सृजना अधिकारी, सन्दिपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, सुजीता शिवाकोटी, मनिषा सापकोटा, बालिका कलाकार हर्षिका वली, मञ्जिला बाँनीयालगायतको अभिनय रहेको चलचित्रले सेन्सर तथा बिशेष शोहरुबाट निकै उत्कृष्ट प्रतिक्रिया पाएको छ ।






