काठमाडौं,
असार १६ ।
गीतकार अमर वान्तुको नयाँ गीत ‘बाँटोहुँदै खुरकोट’ सार्वजनिक भएको छ । सारिका घिमिरे र प्रितम आचार्यको स्वर, आदेश गुरुमाछनेको सङ्गीत र विष्णु मान्नधरको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विजयराज भुजेलको निर्देशन एवम् सम्पादन रहेको गीतको भिडियोमा पुष्प खडका र ऋचा थापालाई फिचरिङ गरिएको छ ।
डान्सिङविटको सार्वजनिक गीतमा आफूले मन पराएको मान्छेलाई काठमाडौंबाट पूर्वतर्फ जाने सुन्दर र रमणीय बाटो खुरकोटको बाटो भागेर जान आग्रह गरिएको छ । सन्तोष तामाङको डिओपी रहेको गीतको भिडियो गीतकार वान्तुको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) सङ्ग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् ।
‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान…’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् । आफ्ना अन्य गीत जस्तै ‘बाँटोहुँदै खुरकोट’ले पनि श्रोता/दर्शकको साथ पाउनेमा आफू आशावादी रहेको गीतकार वान्तुले बताउनुभयो ।






