काठमाडौं,
असार ११ ।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सकिएको छ। ‘आखै रसिलो’ बोलको गीतको छायांकनसँगै चलचित्रको इन्डक्ल्याप गरिएको हो ।
भ्वाइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा गीतको छायांकन गरिएको थियो । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ भने अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर छ ।
गीतमा चलचित्र मुख्य कलाकार रोशन श्रेष्ठ र आयुषा समालसँगै मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्की, नारायण प्रधान, डि आइडीका टप टेन डान्सर नरेश वीर सिंहलाई फिचर्ड गरिएको छ।
चलचित्रको केही दिनअघि अमेरिकामा समेत छायांकन गरिएको थियो । नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जीलिङ, जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउँमा चलचित्रको छायांकन गरिएको थियो ।
यस चलचित्रमा भारत, मलेसिया, पोल्याण्ड, अस्टिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रीका लगायतका देशका कलाकारहरूको पनि अभिनय रहेको निर्माणटिमले जनाएको छ ।
अमेरिकामा रहनुभएका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन र कथा रहेको यस चलचित्रलाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गर्नुभएको हो ।
चलचित्रमा रोशन र आयुषासहित विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुबास भण्डरी, बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय छ । आयुषा समाल मेरो डान्स कप युएसए कि फर्स्ट रनर अप हुनुहुन्छ ।
चलचित्रले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको निर्माणपक्षको भनाइ छ ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।






