आज अन्तर्राष्ट्रिय योग र सङ्गीत दिवस विभिन्न कार्यक्रमबीच मनाइँदै

काठमाडौं,
असार ७ ।

आज अन्तर्राष्ट्रिय योग र सङ्गीत दिवस विभिन्न कार्यक्रमबीच मनाइँदै छ । हरेक वर्षको जुन २१ तरिखमा विश्व योग र सङ्गीत दिवस मनाउने गरिन्छ ।

जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गर्नुभएको थियो । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गर्नुभएको थियो । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ । यस्तै, हामीकहाँ राष्ट्रिय योग दिवस माघ १ गते मनाउने गरिन्छ ।

योगको अर्थ जोड्नु भन्ने लाग्छ । वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । पतञ्जलीको योग दर्शनमा भएअनुसार योग त्यो प्रयत्न, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रीयलाई वशमा गरिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ । शरीर, इन्द्रीय, मन, बुद्धि र अहंकार माथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ र त्यही शुद्ध स्वरूप प्राप्त गर्ने माध्यम नै योग हो । योगदर्शनका प्रतिपादक ऋषि पतञ्जली हुनुहुन्छ ।

यस्तै, आज विश्व सङ्गीत दिवस । हरेक वर्ष जुन २१ तारिखका दिन विशेष साङ्गीतिक कार्यक्रमगरी सङ्गीत यो दिवस मनाउने गरिन्छ ।

फ्रान्सको पेरिसबाट ‘फेट डे ला म्युजिक’ नामले सुरु भएको यो महोत्सवलाई हाल विश्वका हरेक कुनामा विश्व संगीत दिवसको रूपमा मनाउने गरिएको छ । सन् १९८२ को जुन २१ तारिखका दिन पहिलो पटक विश्व सङ्गीत दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन २१ मा यो दिवस मनाइँदै आइएको छ । सङ्गीतसँग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विश्वका विभिन्न ११० भन्दा बढी देशमा संगीत दिवस मनाउने गरिन्छ । नेपालमा वि।सं २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।

सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवम् गायक(गायीका, रचनाकार, सङ्गीतकार तथा सङ्गीतप्रेमीहरूको सहभागीतामा यो दिवस मनाउने गरिन्छ । सङ्गीतलाई विश्वव्यापी भाषा मानिन्छ । २१ जुनको दिन वर्षको सबैभन्दा लामो दिन पनि हुने गर्छ । सङ्गीत र योगले पनि मानिसलाई दीर्घजीवन प्रदान गर्ने गर्दछ ।

यसमा तपाइको मत

अन्य समाचार