संविधान दिवसमा ‘ह्रस्व दीर्घ’

काठमाडौं,
जेठ २० ।

यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ। निर्माण टिमले चलचित्रलाई एकहप्ता पहिले नै रिलिज गर्नेगरि संविधान दिवसको अवसरमा असोज ३ लाई नयाँ मिति तोकेको हो ।

निर्मात्री नीता ढुंगानाले वितरण कम्पनि र निर्माण टिमको सल्लाहमा चलचित्रको रिलिज हेरफेर गरिएको बताउनुभयो । ‘हाम्रो प्रोडक्ट कुन मितिमा ल्याउने विषयमा हामी जिम्मेवार हुने कुरा रहन्छ, असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिति रोजिएको हो’, नीताले भन्नुभयो । चलचित्रको यतिबेला धमाधम डबिङको काम चलिरहेको छ । पुरानी अभिनेत्री विपना थापा यही चलचित्रको डबिङको लागि यतिबेला नेपालमा हुनुहुन्छ ।

चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’मा निर्मात्री रहेकी अभिनेत्री नीतासँगै, अभिनेता हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायत नाम चलेका दर्जनबढि कलाकारको अभिनय छ ।

सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो चलचित्रलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहर अधिकारीको कथा रहेको चलचित्रमा वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ । चलचित्रमा मित्र डि गुरुङको सम्पादन छ । कास्टिङ निर्देशक धनन्जय घलानी रहेको चलचित्रमा कोरियोग्राफी रामजी लामिछाने र वलिउड कोरियोग्राफर शुष्मा सुमनको छ । निता फिल्मस्को ब्यानरमा चलचित्र तयार भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार