काठमाडौं,
जेठ ७ ।
डि सिने अवार्डको १५औं संस्करण सम्पन्न भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच छायाँछवि क्रियशनको आयोजनामा नियमित रूपमा हुँदै आइरहेको यो अवार्डको नयाँ संस्करण सम्पन्न भएको हो । १५औं प्रिज्मा डि सिने अवार्डमा-२०७९ सालका चलचित्रहरूबाट अवार्डेड गरिएको थियो ।
१५औं डि सिने अवार्डमा अभिनेतातर्फ चलचित्र प्रकाशबाट प्रदीप खड्का र अभिनेत्रीतर्फ चलचित्र झिंगेदाउबाट आँचल शर्मा अवार्ड पाउन सफल हुनुभएको थियो । उत्कृष्ट चलचित्र रूपमा पनि झिंगेदाउ नै ठहरियो । सर्वोत्कृष्ट निर्देशकमा भने प्रकाश चलचित्रबाट दिनेश राउत अव्वल ठहरिनुभयो । चलचित्र लाखेका लागि सम्राट बस्नेत जुरी अवार्ड पाउन हुनुभएको थियो । पपुलर चिलचित्रको रूपमा छक्का पञ्जा-४ अवार्ड पाउन सफल भयो भने सर्वोत्कृष्ट नेशनल फिल्म रिमेश अधिकारीको नालापानी भयो ।
नवनिर्देशकको रूपमा चलचित्र डेसानबाट कमल एक्चै मगरले अवार्ड पाउन सफल हुनुभएको थियो । डेसानबाटै नम्रता सापकोटा सहअभिनेत्रीको रुपमा सर्वोत्कृष्ट हुनुभयो भने । सहअभिनेतामा चलचित्र लाखेबाट रोहित रुम्बा र लाखेबाटै प्रशान्त ताम्राकार सर्वोत्कृष्ट खलपात्र हुनुभयो ।
त्यस्तै प्रिज्मा १५औं डि सिने अवार्डमा झिंगेदाउबाट हिउँवाला गौतम र प्रकाशबाट प्रकाश घिमिरे क्रमशः चरित्र अभिनेत्री र चरित्र अभिनेतामा अव्वल सावित हुनुभयो । चलचित्र प्रकाशबाट विकास सुवेदी सर्वोत्कृष्ट कथाकार ठहरिनुभयो भने सर्वोत्कृष्ट पटकथा एवं संवादका लागि झिंगेदाउ चलचित्रबाट प्रदिप भारद्वाज सर्वोत्कृष्ट ठहरिनुभयो । नरेन्द्र मैनाली छक्का पञ्जा-४ बाट सर्वोत्कृष्ट छायांकार हुनुभयो भने सर्वोत्कृष्ट सम्पादकमा चलचित्र प्रकाशबाट जीवन थापा अव्वल ठहरिनुभयो ।
चलचित्र हिजोआजका कुराबाट दीपक शर्मा माया जदौ गीतका लागि संगीतकारमा, चलचित्र छक्का पञ्जा-४ बाट दर्शन सलामा गीतका लागि डेविड शंकर गायकमा, छक्का पञ्जा-४ बाटै दर्शन सलाम गीतका लागि सहिमा श्रेष्ठ गायिकामा एवं चलचित्र झिंगेदाउबाट आगोबिना बिडी जल्दैन गीतका लागि मुक्त उदास गीतकारमा सर्वोत्कृष्ट ठहरिनुभयो । छक्का पञ्जा-४ को दर्शन सलाम गीतकै लागि कविराज गहतराज सर्वोत्कृष्ट नृत्य निर्देशक हुन सफल हुनुभयो । सम्राट बस्नेतले द्वन्द्व निर्देशकका लागि चलचित्र लाखेबाट ट्रफी उचाल्नुभयो । झिंगेदाउको पाश्र्व संगीतका लागि सास्वत श्रेष्ठ सर्वोत्कृष्ट ठहरिनुभयो । प्रिज्मा १५औं डि सिने अवार्डमा विभिन्न २४ विधा गरी अवार्ड प्रदान गरिएको थियो ।
सो अवसरमा चलचित्रकर्मी रजत सम्मान हाँस्य अभिनेता जीतु नेपाल र पाश्र्व गायिका माण्डवी त्रिपाठीलाई प्रदान गरिएको थियो । यस्तै, पत्रकारितामा दुई दशकभन्दा लामो समयदेखि कार्य गरिरहनुभएहेका पत्रकार मणिराज गौतमलाई पन्ध्र हजार ५५५ राशीको छायाँछवि रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यस्तै, छायाँछवि विशेष सम्मानद्वारा अभिनेता सविन श्रेष्ठ सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा छायाँछवि कलाकार सम्मानबाट वरिष्ठ कलाकार शिवहरि नेपाल बैरागी, छायाँछवि संगीत सम्मानबाट रुद्रशेखर शर्मा, छायाँछवि प्रदर्शक सम्मानबाट दिप्रश शाक्य, छायाँछवि कलाकारिता योगदान सम्मानबाट रोशन श्रेष्ठ, छायाँछवि कला सम्मानबाट विराज विष्ट, छायाँछवि संगीत सम्मानबाट अर्जुन खरेल र छायाँछवि फोटोग्राफी सम्मानबाट च्याङ्बा लामा सम्मानित हुनुभएको थियो ।
समारोहमा वरिष्ठ गायिका देवका वन्दना, गायिका माण्डवी त्रिपाठी, गायिका सहिमा श्रेष्ठले गायन प्रस्तुत गर्नुभएकोथियो भने अभिनेत्री पवित्रा आचार्य एवं मोडल प्रमिता राजघतानीले नृत्य प्रस्तुत गर्नुभएको थियो । यस्तै हाँस्य कलाकार जीतु नेपालले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
अवार्डको निर्णायकमा वरिष्ठ लेखक, निर्देशक मोहन निरौला, वरिष्ठ रंग पत्रकार विजयरत्न तुलाधार, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा लेखक शोभिता सिंखडा रहनुभएको थियो । अवार्डका अध्यक्ष शान्तिप्रियले अवार्डको औचित्यमाथि स्वागत मन्तव्य राख्नुभएको थियो भने समारोहको सञ्चालन निराजन भण्डारीले गर्नुभएको थियो ।






