काठमाडौं,
वैशाख १४ ।
चलचित्र ‘खुस्मा’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन सकाएको चलचित्रले दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटमा सुरु गरेको हो ।
निर्देशक अशोक थापामगरले बिहीबारबाट फिल्मको छायांकन सुरु भएको बताउनुभयो । यो चरणमा चलचित्र रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने उहाँले जानकारी दिनुभयो ।
अभिनेता सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले मगर समुदायको परिवेशमा निर्माण हुन लागेको हो । चलचित्रले प्रेमकथा कथाका रूपमा उठाएको छ । चलचित्रको कथा जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेम बताइन्छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निर्देशक थापामगरले नै तयार पार्नुभएको हो । रुकुमको मैकोट अभिनेता धिरजको जन्मथलो पनि हो । उहाँ त्यहाँबाट दुई वर्षको उमेरमा युके जानुभएको थियो ।
डकुमेन्ट्रीबाट निर्देशन थाल्नुभएका निर्देशक थापाले नौ वटा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट अवार्ड प्राप्त गरिसक्नुभएको । चलचित्रका निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर हुनुहुन्छ ।
चलचित्रमा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापामगरको गीत रहनेछ । चलचित्र आगामी असोज ३ गते प्रदर्शन हुने बताइएको छ ।






