अपाङ्गता तथा कार्यगत सिमितता भएका बालबालिकाको स्वास्थ्य परीक्षण

काठमाडौं,
वैशाख ११ ।

ह्याण्डीक्याप इन्टरनेशनल नेपाल र युनिसेफ नेपालको साझेदारीमा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाद्वारा सञ्चालित ‘अपाङ्गता समावेशी प्रारम्भिक बाल विकास तथा शिक्षा कार्यक्रम’ अन्तर्गत प्रथम चरणमा वासिङ्गटन समुह बाल कार्य मोडयूलको प्रयोग गरी शिक्षकद्वारा गरिएको प्रारम्भिक पहिचानमा कार्यगत सिमितता पहिचान भएका बालबालिकाहरूको अपाङ्गता तथा कार्यगत क्षमता सुनिश्चित गर्न मेडिकल परिक्षण अछाम जिल्ला अस्पताल मंगलसेनमा सम्पन्न भएको छ ।

अडियोलोजिष्ट र साइकोलोजिस्ट मार्फत कान, बौद्धिक, मनोसामाजिक तथा विकासात्मक क्षमताको वृद्धि विकास हुन नसकेका बालबालिकाहरूको परिक्षण भइरहेको ह्यान्डीक्याप इन्टरनेशनल नेपालका कार्यक्रम प्रवन्धक पदम महरले बताउँनु भयो । यो परिक्षणले अपाङ्गता तथा कार्यगत सिमितताको पहिचानले थप हुनसक्ने अपाङ्गताको जटिलतालाई समयमै रोक्न र आवश्यक सहायक सामग्रीको व्यवस्थापन मार्फत कार्यगत सिमितताको प्रभाव न्यूनिकरण गर्दै पहुँच वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । त्यसै गरि कार्यगत सिमितताका कारण सिकाइमा कठिनाई भएका बालबालिकाको व्यक्तिगत सिकाइ तथा विकास योजना मार्फत कक्षा कोठामा शिक्षकले उपयुक्त रणनिति सहितको योजना बनाई सहजिकरण गर्न मद्दत र एकिकृत परिवार सेवा योजना बनाई परिवार तथा समुदाय र सामुदायिक संस्थाको भूमिकालाई आव्हान समेत गर्नेछ ।

दोश्रो चरणको स्वास्थ्य परिक्षणमा मंगलसेन नगरपालिका अन्तर्गत प्रारम्भिक परिक्षण गरिएका बाल विकास देखि कक्षा ३ तथा विद्यालिय उमेर समुहका विद्यालय वाहिर रहेका समेत गरि ११५ जना बालबालिकाहरूको परिक्षण गरि अपाङ्गता पहिचानका साथै थप स्वास्थ्य सेवा, सहायक सामाग्री, समावेशी सिकाइ सामग्री तथा रेफरल सेवा मार्फत सहयोग पुग्ने विश्वास लिइएको छ । कान तथा सुनाई परिक्षण मार्फत सुनाई क्षमता तथा आवश्यकता अनुसार कानको शल्यचिकित्सा वा श्रवणयन्त्र समेतको आवश्यकता पहिचान हुनेछ । यसैगरि दृष्टि तथा हेराई सम्बन्धी कठिनाई भएका बालबालिकालाई चश्मा वा शल्यचिकित्साका साथै रिडिङग ग्लास, म्याग्निफायर लगायतको आवश्यकता पहिचान गरी उपलब्ध गराउन सहजीकरण गर्नेछ ।

शारिरीक रूपमा कठिनाई भएका बालबालिकाहरूको सन्दर्भमा कार्यगत परिक्षण गर्ने र आवश्यकता अनुसार शल्यचिकित्सा, सहायक सामाग्री लगायतको व्यवस्था गर्नमा टेवा पुग्ने छ । यसैगरि बौद्धिक वा विकासात्मक कार्यगत सिमितता भएका बालबालिकाहरूको बौद्धिक क्षमता आई क्यू टेस्ट मार्फत बौद्धिक विकासको स्तर निर्धारण गरी उपयुक्त शिक्षण सिकाइ क्रियाकलाप लगायतका थप रणनिति मार्फत सिकाइ सहजीकरण हुने विश्वास लिइएको छ ।

वासिङ्गटन समुहको बाल कार्य मोडयूलको प्रयोग गरी तालिम प्राप्त शिक्षकद्वारा गरिएको प्रारम्भिक पहिचानलाई थप प्रमाणिकरण गर्ने उद्धेश्यले गरिएको यस स्वास्थ्य परिक्षणले कार्यगत सिमितताको अवस्था सुनिश्चित गर्ने र सोहि अनुसार शिक्षण सिकाइमा सवलीकरण गर्नका साथै अन्य सामाजिक सुरक्षा लगायत अपाङ्गता परिचय पत्र प्राप्त गरी राज्यद्वारा प्रदान गरेका सेवा सुविधामा समेत पहुँच वृद्धि गर्ने विश्वास लिइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार