काठमाडौं,
चैत २० ।
‘पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव’मा दीपेन्द्र के निर्देशित ‘चिसो मान्छे’ उत्कृष्ट चलचित्र घोषित भएको छ । ‘चिसो मान्छे’ ले चलचित्रतर्फ उत्कृष्ट अवार्ड थाप्दा ‘घुर्रा’ ले लघु चलचित्रतर्फको उत्कृष्ट अवार्ड चुम्न सफल भयो । कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड अभिनेत्री स्वस्तिमा खड्काले ‘चिसो मान्छे’ बाटै प्राप्त गर्दा ‘महापुरुष’ बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेताको अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ‘महापुरुष’ कै निर्देशक प्रदीप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड चुम्नुभयो ।
महोत्सवमा चलचित्र ‘छक्का पञ्जा ४’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौला ‘जुरी मेन्सन अवार्ड’ चुम्नुभयो । कार्यक्रममा वृत्तचित्र ‘थिम’, ‘दिअर ईज नो टुमारो’, ‘मकै विवाह’, ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ ले समेत अवार्ड आफ्नो पोल्टामा पारे ।
स्पेसल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ ले प्राप्त गरेको कार्यक्रममा लघु चलचित्र ‘साउण्ड अफ ड्रिमिङ’ बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाकारको अवार्ड प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, कलाकार मिथिला शर्मा, भुवन चन्दलगायतको उपस्थिति रहेको कार्यक्रममा उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तर्राष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो ।
भारतको ‘मुझे स्कुल नही जाना’, बेलायतको ‘नो फ्रिडम नो आर्ट’, बंगलादेशको ‘डियर सत्यजित’, पाकिस्तानको ‘ईन्टरभल’, बहराइनको ‘शैख अल तानवीर’, भारतको ‘शट बुट थ्री’, साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, बेल्जियमको ‘हृवेर हृयाभ अल द स्माइल्स गन’ले कार्यक्रममा अवार्ड प्राप्त गरेका थिए ।
महोत्सवको राष्ट्रिय निर्णायकमा कलाकार आँचल शर्मा, मोहन निरौला, सुष्मा कार्की, मोहन राई र पत्रकार शान्ति प्रिय, जय निशान्त र सुवास प्रधान रहनुभएको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर हुनुहुन्थ्यो ।
तीन दिन चलेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लाससमेत आयोजना गरिएको थियो । महोत्सव निर्देशक सन्तोष सुवेदीले सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र र त्यसका स्रष्टालाई सहभागिताका लागि धन्यवाद दिँदै मायाको चिनो प्रदान गर्नुभएको थियो ।






