मोफसल यात्रा गर्दै ‘महाजात्रा’

काठमाडौं,
फागुन ११ ।

चलचित्र ‘महाजात्रा’ निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । यही फागुन २१ देखि दुई चरणमा यात्रा गर्न लागेको निर्माणपक्षले जानकारी दिएको हो । ‘हामीले फिल्मको प्रदर्शन अगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौं । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाउनुभएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकारहरू हुनुहुनेछ’, निर्माता म्याक्स दीपेश खत्रीले जानकारी गराउनुभयो । उहाँका अनुसार अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत उक्त भ्रमणमा हुनुहुनेछ ।

‘महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ । यसको दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरू भई १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुति रहने जनाइएको छ ।

भ्रमणमा अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतिमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।

‘हामीले चलचित्रको प्रचारप्रसारका लागि काठमाडौं झैँ मोफसलमा पनि उत्तिकै गतिविधि गर्ने गरेका छौँ । त्यसैले यसपटक हामीसँगै दर्शक माँझ लोकप्रिय पछिल्लो पुस्ताका कमेडियनलाई लिएर दर्शकलाई भेट्न उहाँकै सहरमा पुग्दैछौँ’, निर्माता खत्रीले भन्नुभयो ।

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृंखला ‘महाजात्रा’ हो । यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै चलचित्रको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने चलचित्रमा हासो र रोदनको मिश्रण छ ।

यसले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाईसकेको छ । कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसक्नुभएको छ । उहाँले चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने बताउनुभयो ।

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुनुहुन्छ ।

चलचित्रमा जितबहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहनुभएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार