एकल साँझमा गुञ्जिए यम बराल

काठमाडौं,
कात्तिक २० ।

एकल साँझमा गायक यम बराल गुञ्जिनु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हल दर्शकले खचाखच भएको एकल साँझमा उहाँ गुञ्जिन भएको हो । हेम सुवेदीले उद्घोष गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगर रहनुभएको थियो भने अतिथिमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती रहनुभएको थियो । बरिष्ठ सङगीतकार शम्भूजीत बास्कोटा, सङ्गीतकार आलोकश्री, गायक प्रमोद खरेललगायतको आतिथ्यता रहेको कार्यक्रममा गायक बरालल ‘बादलुको घुम्टोले इलाम बजार छोपिंदा’ गाउँदै स्टेजमा उक्लिनु भएको थियो । आठ जना बाद्यवादकले उहाँको गायकीमा प्राण भरे भने यो गीत गाइरहँदा उहाँका छोरा आरोग्य पनि राष्ट्रिय झण्डाका साथ स्टेजमा रहनुभएको थियो ।
उहाँले ‘दिलमाया दिलमाया’, ‘अब चोटहरूले’, ‘मन रहे पो मायाप्रीति’, ‘बादलुको घुम्टो’, ‘निष्ठुरीले छाडेर गइहाली’, ‘कोल्टे फेरि’, ‘नदेखे तिमीलाई’, ‘नछोएरै पनि छोएजस्तो’, ‘कुन साँझको साइत’, ‘सुन्दर रहेछ संसार’ जस्ता गीत प्रस्तुत गर्नुभएको थियो ।

पहिलो चरणमा आफ्ना सुगम सङ्गीतका कालजयी गीत सुनाएर सबैलाई ‘नोस्टाल्जिक’ बनाउनुभएका यमले दोस्रो चरणमा चलचित्रका गीत प्रस्तुत गर्नुभएको थियो । यसमा उहाँलाई गायिका देविका बन्दना र अनु अधिकारीले युगल गायनमा साथ दिनुभएको थियो ।

उहाँले देविकासँग ‘दौंतरी’ चलचित्रको ‘तिम्रो हाम्रो चिनारी’ गाउनुभयो । चलचित्र ‘माइली’को ‘जाऔंन ठमेलमा’ गाउने बेला उहाँले सङ्गीतकार बास्कोटालाई स्टेजमै बोलाएरसँगै गाउन आग्रह गर्नुभयो, शम्भूजीले पनि देविका र यमसँगै गीत गाउनुभयो ।

यस्तै उहाँले नवगायिका अनु अधिकारीसँग ‘उड्दैछौ कि बस्यौ’ प्रस्तुत गर्नुभयो । उहाँले ‘हेर हेर पूर्वबाट झुल्किएछ घाम’, ‘माया बस्यो मुटुमा’ हुँदै ‘समन माया लाको’ गीतबाट आफ्नो ऐतिहासिक एकल साँझको मैझारो गर्नुभएको थियो ।

लाइन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिनले आयोजना गरेको एकल लाइभ कन्सर्टबाट उठेको रकम धादिङको एक विद्यालय र क्यान्सर पीडित गायिका जमुना थापामगरलाई सहयोग गर्ने घोषणा गरिएको छ । लाइन्स क्लब इन्टरनेसनलका तर्फबाट सोही कार्यक्रममा जाजरकोट भूकम्प पीडितका लागि सहयोग रकमसमेत घोषणा गरियो ।

कार्यक्रममा उपसभामुख रानाले यम बरालको निरन्तर साङ्गीतिक सक्रियताको लागि शुभकामना दिनुभयो । मन्त्री किरातीले यम बरालको आफू ठूलो फ्यान भएको भन्दै कलाकारहरू देशका गहना मात्र नभई ‘नरम कूटनीतिज्ञ’ पनि भएको बताउनुभयो । झण्डै २५ वर्षपछि यम बरालको एकल गायन कन्सर्ट भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार