काठमाडौं,
भदौ १९ ।
सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका-६ ठेगाना भएका ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका-४ ठेगाना भएका ३५ वर्षीय महावीरप्रसाद साह रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली बिज्ञापन पोष्टगरी सम्पर्कमा आएका पीडितलाई क्यासियरको काम लगाइदिन्छु, मासिक पाँच लाख ४५ हजार रूपैयाँ तलव हुन्छ, प्रोसेसिङको लागि आवश्यक कागजातहरु पठाउन रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरूका नामको खाताहरूमा पटक-पटक गरी जम्मा ३४ लाख ५७ हजार ७१० रूपैयाँ रकम पठाउन लगाई उनीहरूले ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।






