काठमाडौं,
साउन ६ ।
वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादन रहेको तीज गीत ‘माईत रमाईलो’ सार्वजनिक भएको छ । देवी पराजुलीको शव्द रचना रहेको गीतको भिडियो काठमाडौंमा आयोजित एक औपचारिक समारोहबीच सार्वजनिक गरिएको हो ।
गीतकार पराजुलीकै सभापतित्व एवं समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा विशिष्ट अतिथिका रुपमा मधेशी आयोगकी सदस्य रेणुदेवी शाह, संविधानसभा सदस्य रिमा नेपाल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार भेषराज अधिकारी, उपसचिव नवराज पाण्डे, गीतकार संघ नेपालका उपाध्यक्ष रमेश कोईराला, कर्मचारी युनियनकी उपाध्यक्ष निर्मला शर्मा, साहित्यकार राजेन्द्र घिमिरे, गीतकार प्रकाश सुवेदी, गायिका सत्यकला राई, सिनेम्याटोग्राफर तथा सम्पादक वीरेन्द्र भाट ‘विपिन’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’ लगायतको उपस्थिति थियो ।
गीतमा राम कार्कीको लय तथा सङ्गीत संयोजन रहेको छ भने विन्दु परियार र राम कार्कीले स्वर दिनुभएको छ । गीतको मिक्सिङ कृष्ण पुनले गर्नुभएको छ । वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको गीतको भिडिओमा महेश महराको सिनेम्याटोग्राफी र मुकेश नेपालीको कोरियोग्राफी छ । भिडिओमा अनिषा न्यौपाने, परशु बस्नेतलगायत दर्जनौं महिलाहरूले आकर्षक अभिनय र नृत्य गरेका छन् ।
प्रेम र सद्भावको सन्देश बोकेर आएको यस गीत तथा भिडिओले पति पत्नी बीचका साथै कर्मघरका अन्य सदस्यहरूप्रति सम्मान र प्रेम प्रकट गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । दुःख, कलह, असन्तुष्टि, वैमनष्यता र आरोप प्रत्यारोप जस्ता नकारात्मक विषयवस्तुमा केन्द्रित तीज गीत तथा भिडिओहरूको भीडमा यस गीतले फरक पहिचान स्थापित गर्ने छ भन्ने विश्वास गर्न सकिन्छ । सङ्गीतकार तथा गायक सुरेश शाहीले सहजीकरण गरेको सो समारोहमा गीतकार प्रकाश सुवेदीले गीत तथा भिडिओको समीक्षा गर्नुभएको थियो ।
निजामती कर्मचारी संगठन सचिवालय सदस्यसमेत रहनुभएकी गीतकार पराजुली एक जिम्मेवार र जुझारु कर्मचारीका रुपमा परिचित हुनुहुन्छ । उहाँका तीजगीत, राष्ट्रिय भाव, चेतनामूलक, आधुनिकगरी १४ वटा गीत रेकर्ड भएका छन् भने केही गीतका भिडिओसमेत निर्माण भईसकेका छन् ।






