काठमाडौं,
जेठ २२ ।
संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।
हरेक वर्ष ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । पर्यावरणप्रति विश्व जगतमा सचेतना जगाउने उद्देश्यअनुरूप संयुक्त राष्ट्रसंघको आहृवानमा सन् १९७३ देखि प्रत्येक वर्ष ५ जुनमा विश्व वातावरण दिवस मनाइन्छ ।
वातावरण दिवस मनाउनुभन्दा एक वर्ष अगाडि सन् १९७२ को जुन ५ देखि १६ तारिखसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो ।
वातावरण संरक्षणका लागि विश्वभरमा राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो । वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी सम्मेलनको एक वर्षपछि सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।
नेपालमा पनि यसदिन विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । मानव जाति आफू बस्दै आएको वातारणको सर्जक र विनाशक दुवै रहेकाले वातावरण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यही कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित यो दिवस मनाइन्छ ।






