काठमाडौं,
जेठ ५ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराहृन ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले सो व्यहोराको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरूलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिनुभएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यसपछि राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको लागि प्रतिनिधिसभाको बैठकले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको छ ।
सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । उक्त छलफलपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने सम्वैधानिक व्यवस्था छ ।






