सिन्धुलीमा दोहोरी गीत प्रतियोगिता सम्पन्न

सिन्धुली,
वैशाख ३ ।
नयाँ बर्षको उपलक्ष्यमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिती सिन्धुलीको आयोजनामा जिल्ला स्तरीय लोक तथा दोहोरी गीत प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । सिन्धुलिको खुल्ला मञ्चमा आयोजित प्रतियोगितामा आठ ओटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा शिशिर सिद्द र पबित्रा रम्तेलको टोली प्रथम, धर्मेन्द्र सेन्चुरी र निर्मला मोक्तान द्वितीय, मानकुमार बिक र साबित्रा कालिकोटे तृतीय एवम् रिता थिङ र स्याम पुलामीको टिमले सान्तोना स्थान प्राप्त गरेका थिए । दोहोरी गीत प्रतियोगिताको प्रमुख निर्णायकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कलाकार कल्याणकारी कोषका सदस्य नवीन पौडेल, बासु सिंखडा र भरत बराकोटी हुनुन्थ्यो ।

प्रतियोगितामा सहभागी टिमले गीत गाउदा दर्शक दीर्घा बाट व्यापक हुटिङ र तालिले साथ दिएका थिए । प्रतियोगि टिमले रोचक र घोचक शब्द बाणले प्रहारगर्दा सिन्धुली खुल्लामन्चको माहोल निक्कै नै उल्लासमय भएको थियो ।

कमलामाइ नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद पोखरेल (उज्ज्वल) को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा जिल्ला समन्वय समितिकी उपप्रमुखलगायत विभिन्न पालिकाका प्रमुख, पत्रकार महासंघ सिन्धुलिका अध्यक्ष, उध्योग बाणिज्य संघ सिन्धुलिका प्रतिनिधिहरू हुनुन्थ्यो ।

सिन्धुली जिल्ला मै पहिलोपटक आयोजित लोक तथा दोहोरी गीत प्रतियोगितामा प्रथम हुनेलाइ पच्चिस हजार, द्वितीय हुनेलाइ पन्ध्र हजार र तृतीय हुनेलाइ दस हजार रुपया प्रदान गरिएको प्रतिष्ठान सिन्धुलिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताउनुभयो । सिन्धुली जिल्लाका सम्पूर्ण स्थानीय तहहरुको सहकार्यमा आयोजित कार्यक्रममा प्रतियोगीताका अलावा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

रात ढल्किदै गर्दा नवीन पौडेलले करिब आधा दर्जन गीत प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रस्तुति निक्कै उत्कृष्ट थियो । उहाँको गीतले सबैलाई मन्त्रमुग्ध बनाएको थियो त्यसैले हरेक गीत गाइनसक्दै वान्स मोर को आवाज गुन्जिन्थ्यो । कार्यक्रममा बलबहादुर गुरुङ, अमृता लुङ्गेली लगायतले गीत प्रस्तुत गर्दा कार्यक्रमको माहोल निक्कै तातिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार