काठमाडौं,
चैत २९ ।
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज काठमाडौँमा चुनाव हुँदै छ । महासंघको निर्वाचन कार्यक्रमअनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा अहिले बिहान ८ बजे मतदान सुरु हुनेछ । अपराह्न ४ बजे सकिने मतदानको मतगणना आजै अपराह्न ५ बजे थालिने र नतिजा घोषणा गर्ने कार्यतालिका छ।
वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित चुनावी मैदानमा हुनुहुन्छ ।
महासंघको विधानअनुसार महासंघको अध्यक्ष भने हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः हुनुहुने छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।
उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभा हिजो होटल याक एन्ड यतीमा उद्घाटन गरिएको हो । साधारणसभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा ११८ जनाले उम्मेदवारी दिएका छन् । कूल ६४ पदमा हुने निर्वाचनमा ११८ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्यसहित संस्थापक र द्विराष्ट्रिय पदमा गरी कूल ६४ पद छन् ।






