मोहन निरौलाद्वारा प्यानल र एजेन्डा सार्वजनिक

काठमाडौं,
चैत २ ।

नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिका लागि बरिष्ठ कलाकार मोहन निरौलाले अध्यक्षमा आफ्नो प्यानलसहित घोषणा गर्नुभएको छ । यही चैत ४ गते हुने चुनावका लागि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो समूहको उम्मेदवारहरूको नाम सार्वजनिक गर्नुभएको हो ।

निरौलाको प्यानलबाट उपाध्यक्षमा डीबी बम्जन र कविता गेलाल तथा महासचिवको उम्मेदवार सविन श्रेष्ठ हुनुहुन्छ । यस्तै निरौला प्यानलको सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल र सह–कोषाध्यक्षमा पवित्रा आचार्य (निर्विरोध) हुनुहुन्छ ।

सदस्यहरूमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा उम्मेदवार हुनुहुन्छ । बरिष्ठ कलाकार निरौलाले संघको भवन तथा कार्यालय व्यवस्थापन, सामाजिक सुरक्षा, कलाकारको वृत्तिविकासलाई मुख्य एजेन्डा बनाउनुभएको छ ।

यस्तै, कलाकारहरूलाई आफ्नो पेशाप्रति इमान्दार र नैतिकवान् बनाउन पहल गर्ने, चलचित्र कलाकार संघलाई चलचित्र क्षेत्रकै संस्थाहरू मध्ये हरेक कोणबाट उत्कृष्ट संस्था बनाउन पहल गर्ने, कलाकारहरूलाई पेशागत सुरक्षाको प्रत्याभूति दिलाउने, संघले प्रदान गर्ने पुरस्कार तथा सम्मानलाई थप पारदर्शी तथा व्यवस्थित बनाउने, हाम्रालाई होइन राम्रालाई पुरस्कृत र सम्मानित गर्ने, कलाकारको वृत्तिविकास र भविष्य सुनिश्चितताको बाटोमा कटिबद्ध भई काम गर्ने, सामाजिक प्रतिष्ठा अभिवृद्धि गराउनुका साथै अभिनयका प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्ने, चलचित्र क्षेत्रका अन्य सरोकारवाला संघसंस्था, चलचित्र विकास बोर्ड लगायत सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गरी पेशागत सुरक्षा र हकहितका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्दै जाने, चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड जस्ता सरकारी निकायमा कलाकारहरूको उपस्थिति बढाउने लगायत रहेका छन् ।

बरिष्ठ कलाकार निरौला हाल कलाकार संघको उपाध्यक्ष तथा प्रवक्ता हुनुहुन्छ । २०४० सालमा ‘आर्दश नारी’बाट अभिनय यात्रा सुरु गरेका मोहनले ‘बेहुली’, ‘तिरहरी’, ‘स्वर्ग’, ‘नाता’, ‘आर्शिवाद’, ‘जन्म मत्यु’, ‘अजम्बरी नाता’, ‘रावण’, ‘अलविदा’ लगायत सयभन्दा बढी सिनेमामा अभिनय गर्नुभएको छ । कुनै समय नाटकमा पनि सक्रिय उहाँले ‘सम्पति’, ‘पुकार’, ‘जन्मभूमि’ जस्ता चलचित्रको निर्देशन पनि गर्नुभएको छ ।

अध्यक्ष पदकी अर्की उम्मेदवार रेजिना उप्रेतीले बुधबार आफ्नो प्यानल घोषणा गर्नुभएको थियो । अढाई दशकदेखि आफू अभिनेत्रीको रूपमा नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहेको र संघमा दुई पटक उपाध्यक्ष भएर काम गरिसकेका कारण यसपटक अध्यक्षमा आफ्नो समूहसहित उम्मेदवारी दिएको अभिनेत्री उप्रेतीले बताउनुभएको थियो ।

आफ्नो समूहको चुनावी घोषणपत्र सार्वजनिक गर्दै उहाँले संघमा निर्वाचिन भएको दिनबाटै सुझाब पेटिका राखेर सोहीअनुसार काम सुरु गर्ने बताउनुभएको थियो । उहाँले विभिन्न ११ शीर्षकमा करिब ३० वटा योजना सार्वजनिक गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार