आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति

काठमाडौं,
पुस २४ ।

आज आइतबारदेखि जनकपुर र बिराटनगरबाट श्रम स्वीकृति लिन सकिने भएको छ । सरकारले पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा आजदेखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने छ । यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो ।

प्रचण्ड नेतृत्व सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले नागरिकहरूलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायहरूको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका कामहरू तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने निणर्य गरेको थियो ।

सोही निणर्य कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मातहतका मन्त्रालयहरूलाई कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जान निर्देशन दिएबमोजिम आजबाट थप दुई स्थानबाट श्रम स्वीकृति लिने व्यवस्था सुरु हुनेछ । सुर्खेत र धनगढीबाट भने छिट्टै प्राविधिक तथा भौतिक तयारीपछि यो सेवा सुरु हुनेछ ।

त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य भइरहेको छ । यसअघि प्रदेशहरूबाटै श्रम स्वीकृत लिन नसकिने अवस्थाका कारण नागरिकले सास्ती पाउँदै आएका थिए ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित तुल्याउने प्रधानमन्त्रीको सोचअनुसार श्रम स्वीकृतिका लागि कार्यालय बिस्तार गरिएको हो । प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको छलफलका क्रममा समेत नागरिकले राज्यबाट सेवा प्राप्त गर्न लामो लाइन र अन्य झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले आफ्नो निर्देशनलाई बढीमा एक महिनाभित्र परिणाम देखिने गरी कार्यान्वयन गर्न भनेपछि मन्त्रालयहरूले निर्देशनको कार्यान्वयनका लागि कार्ययोजना बनाएर काम गर्न थालेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार