नारायणगढ-मुग्लिन सडकखण्डमा आजदेखि दैनिक चार घण्टा बन्द हुने

चितवन,
पुस ५ ।

नारायणगढ-मुग्लिन सडकखण्डमा आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको हो । सडक बिहान ११ देखि दिउँसो ३ बजेसम्म रोकिनेछ ।

भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जीखोला पुल निर्माणका लागि पहाड काट्नेलगायत कामका लागि सवारी आवागमन रोक्न लागिएको हो ।

नारायणगढतर्फबाट जाने यात्रीवाहक बस, मिनिबस, माइक्रोबस, साना सवारीसाधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै, मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्यांकरलगायत भारी सवारीसाधनलाई भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिनेछ ।

काठमाडौंतर्फबाट आउने यात्रीवाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रीवाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ ।

काठमाडौंतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिनेछ ।

बिहान ११ देखि दिउँसे ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायत अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ ।

यस्तै, पोखरा-काठमाडौं सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ । निर्माणकार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार