डा. उपाध्यायका दश श्रृजना

✍️ डा.डीआर उपाध्याय
काठमाडौं,
मंसिर १७ ।

तिमीमा भावप्रवाह उर्ल्याउन सुनाएँ अनेक कविता,
ढुङ्गा चट्टानकै आकर्षणमा रह्यौ भइनौ सरिता,
उपहास बनिरह्यो सबैमा तिमीप्रतिको मेरो आशक्ती,
जानिनौ लेशमात्र पग्लिन हेरिरह्यौ मुस्काउँदै रमिता ।।

****************

सम्झनाको तालमा पुग्छौ तिमी बनेर प्रेमकमल,
त्यसपछि मधुर गुञ्जन फिंजाउँछन सङ्गीतमय गीतगजल,
एकपल्ट फेरि पाउँछु उर्जा तिमीतिरै लम्कन,
विश्वस्त हुन्छु अब नियतिले गर्दैन छल ।।

****************

जिन्दगीको खेलमा जानिन कहिल्यै पराजय मान्न,
कालान्तरमा भयो कठिन आत्मविश्वासको विरासत धान्न,
बुढ्यौलीसँगै मायालुहरूप्रतिको भ्रमभङ्गले ल्यायो यस्तो चौरस्तामा,
अरूचिकर भयो आफन्त पराइबीचको भेद जान्न ।।

****************

संयोग रहन्छ निरन्तर भाग्यसँगको होडमा,
विशेषगरी जीवनसाथीको जम्काभेट गराउने मोडमा,
भाग्य नभएकै प्रेमीप्रेमिकाबीच बस्छ मायाप्रीती,
धेरैजसो प्रेमीयुगलको गाथा टुङ्गिन्छ बिछोडमा ।।

****************

तप्त मरुभूमि थिएँ म जलप्रपात तिमी
जस्तोसुकै संतापबाट जोगाउने शीतल छाँया तिमी,
बरदान हो प्रेम तिम्रो अभागी का लागि,
जुनिनै सपारी दिने भाग्यशाली सौगात तिमी ।।

****************

छातीमा हात राखेपछी बुझ्छौ प्यारको असलियत,
स्वच्छ आकाशजस्तै पवित्र मेरो तनमनको नियत,
ढुकढुकीले तिम्रो सहर्ष आत्मसात गर्छ अवश्य,
दिल खिलेर नियाल्यौ भने पाउँदिनौ कैफियत ।।

****************

अपरिचित आँखामा जाग्यो प्रेमको तलतल,
भावनाको खोला बग्न थाल्यो कलकल,
पहिलो भेटमै फुट्यो बाँध धैर्यको,
दुबै तनमनको संयोजन भयो सफल ।।

****************

जताततै तिम्रो मुहार गुलाब फुलेझैं फुल्यो,
बालपनदेखि बन्द कोमल मुटुको दैलो खुल्यो,
सुटुक्क पसेर तिमीले कब्जा जमायौ त्यहाँ ,
ढुक्क भएर धड्कन तिम्रो ध्यानमा भुल्यो ।।

****************

जो मुस्काइरहेछ उसलाई पीरले हुर्कायो होला,
जो हिडिरहेछ..उसको पाइतालामा फोका होला,
संघर्षबिना मानिस..टल्किन सक्दैन ,
जुन बल्छ त्यही दियोमा त..उज्यालो होला ।।

****************

१०

तिम्रो झलकले गरिदियो मेरो जुनिकै कायाकल्प,
गरौं मिलेर सपनाहरू साकार पार्ने सङ्कल्प,
नश्वर जगतबाट आत्मासँग लान सकिंदैन केही,
प्रेमानुभूती रहन्छ साथमा प्रशस्त अथवा अल्प ।।

यसमा तपाइको मत

अन्य समाचार