एनआरएनए स्वास्थ्य समितिले पूर्वी नेपालमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं,
मंसिर ९ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार बिहीबार साँझ बसेको स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघको स्वास्थ्य समितिले मानव स्वास्थ्यमा राम्रो काम गरेको भन्दै प्रसंशा गर्नुभयो ।

उहाँले कोरोना महामारीको बेला स्वास्थ्य समितिले खेलेको महत्वपूर्ण भूमिकाले मानिसहरुको जीवन रक्षा भएको बताउँदै नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझ बढी काम गर्नु पर्ने बताउनुभयो ।

नेपालमा स-सानो स्वास्थ्य परामर्शसमेत नहुदाँ स्तन र पाठेघरको क्यान्सरले धेरै महिलाहरुले ज्यान गुमाउनु परेको उल्लेख गर्दै अध्यक्ष थापाले भन्नुभयो, ‘क्यान्सरबिरुद्ध राष्ट्रिय अभियान चलाउन आग्रह गर्छु ।’

बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले विगत सात वर्षदेखि स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य समस्याको बारेमा काम गर्दै आएको बताउनुभयो । उहाँले संघको आयोजनामा भएका सम्मेलनहरू निकै प्रभावकारी भएको बताउँदै आगामी दिनमा थप सक्रिय भएर काम गर्ने बताउनुभयो ।

डा. अरुण शाहीले नेपालमा क्यान्सर सार्वजनिक स्वास्थ्यमा चुनौतीको रुपमा आएको बताउनुभयो । उहाँले पाठेघरको मुख र स्तन क्यान्सर गाउँगाउँमा पुगेको बताउँदै समयमै रोग पत्ता लगाउन सके क्यान्सर निको हुने उनको भनाइ थियो ।

बैठकमा डा. सागर पौडेलले मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा १५ वर्षभन्दा तलका बच्चाहरुको मुटु स्वास्थ्य चेकअप गरिने जानकारी दिनुभयो ।

बैठकले झापाको बाउनडाँगीमा हेयरिङ एडको स्क्रिनिङ गर्ने निर्णयसमेत गरेको छ । बैठकमा डा. विश्वनाथ रिजालले बाउनडाँगी क्षेत्रमा रहेका नेपालीहरूको स्वास्थ्य समस्याको बारेमा प्रकाश पार्नुभयो । बैठकमा नेपालमा दाँत र आँखा जाँचको सम्भावनाको बारेमा छलफल भएको थियो ।

बैठकमा अनिसा भण्डारीले ‘शुन्य हेल्थ’ अन्तर्गत अनुरुप छोटो समयमा समस्याको पहिचान गर्ने प्रविधि नेपालमा आइसकेको जानकारी दिनुभयो । उहाँले नयाँ प्रविधिबाट एकै छिनमा टेष्टको नजिता निकाल्न सकिने बताउनुभयो । शुन्य हेल्थका प्रमुख पवन खड्काले नयाँ प्रविधि सस्तो र सुलभ भएको बताउनुभयो । उहाँले ती प्रविधिहरू गाउँ-गाउँको स्वास्थ्य चौकीमासमेत प्रयोगमा ल्याउन सकिने बताउनुभयो ।

बैठकमा सुमन्त बन्जाडे, डा. अरुण शाही, डा. सागर पौडेल, विश्वनाथ रिजाल, डा. अलोक भण्डारी, प्रभात अधिकारी, डा. प्रकाश श्रेष्ठ, डा. अनुज कँडेल, डा. युवराज रोका, डा. देवी बस्नेत, राधा पोखरेल, खगेन्द्र चपाई कोस्टारिका लगायतको सहभागिता थियो ।

बैठकले गैरआवासीय नेपाली संघको क्षेत्रीय स्वास्थ्य सम्मेलन आगामी जनवरी तेस्रो साता नर्थ अमेरिकामा गर्ने निर्णय गरेको छ ।

विश्वभर पाँच हजार नेपाली चिकित्सक र १५ हजार नर्स विदेशमा छन् उनीहपाँचलाई क्षेत्रीय रुपमा भेला गरेर नेपालीहरुको स्वास्थ्य समस्याका बारेमा मन्थन गर्ने उद्देश्यले सो सम्मेलनको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटाको अध्यक्षतामा बसेको बैठकको सञ्चालन एलिजा केसी र डा. सागर पौडेलले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार