काठमाडौं,
कात्तिक ५ ।
नेपालीहरुको दोस्रो महान चाड तिहार आजदेखि सुरू भएको छ । आजदेखि यमपञ्चक सुरु भएको हो । आजदेखि यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी धनतेरस पर्व पनि आजैका दिन मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस्तै, कात्तिक ६ गते आइतबार काग तिहार काकबली पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । यस्तै, कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व रहेको छ । त्यसैदिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ ।
यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको ढुंगेलले जानकारी गराउनुभयो । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रि पनि भनिन्छ । कात्तिक ८ गते मंगलबार गाईपूजा रहेको छ । यस दिन सूर्यग्रहण पनि परेको छ ।
कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा म्हपूजाका साथै नेपाल सम्वत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ ।
कात्तिक १० गते बिहीबार भाइटीका रहेको छ । यसदिन भाइटीकाको साइत बिहान ११ः३७ मा रहेको छ । उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ ।






