काठमाडौं,
असोज २९ ।
साहित्यकार वसन्तराज अज्ञातको ‘साँझको जून’ नामक हाइकुसङ्ग्रह प्रकाशित भएको छ । यसअघि ‘सपना सजाएर आँखाभरि’ र ‘मखमली दरबार’ नामक दुईओटा गीतसङ्ग्रह पाठकमाझ ल्याउनुभएका अज्ञातको तेस्रो कृतिका रूपमा हाइकुसङ्ग्रह आएको हो ।
दोबेला, खोटाङमा माता मैथकु श्रेष्ठ र पिता लालबहादुर श्रेष्ठका पुत्ररत्नका रूपमा जन्मिनुभएका अज्ञातका संयुक्तरूपमा पनि केही कृति आएका छन् । उहाँका थुप्रै गीत सङ्गीतबद्ध भई रेकर्ड भएका छन् । उहाँले सयौँ पुस्तक तथा पत्रपत्रिकाहरूको आवरण सृजना गर्नुभएको छ भने चित्रमा कविता (कविता-चित्रसङ्ग्रह) स्मृति–बिम्ब (नियात्रासङ्ग्रह), अनिमेष पाइलाहरू (साहित्यिक सङ्कलन), मेरो खुसी मेरो चाह (गीतिसङ्ग्रह), गुपचुप गुपचुप (गजलसङ्ग्रह) लगायतका कृति सम्पादन गर्नुभएको छ । यसका साथै साथी, कोशिकी, सुलेख, हिमाली गुराँस, शृङ्खला, आलेख, साहित्यिक मासिक, नवप्रज्ञापन लगायतका साहित्यिक पत्रिकाको सम्पादनमा संलग्न रही उहाँले काम गर्नुभएको छ । उहाँ जनआन्दोलन घाइते सम्मान (नेपाल सरकार), इमेज सम्मान, प्रज्ञा हीरक पदक, नेपाली सृजना सम्मान लगायतबाट पुरस्कृत तथा सम्मानित भइसक्नुभएको छ ।
अज्ञातले ‘साँझको जून’भित्र ‘साँझको जून’भित्र हिमाल, वसन्त, घाम, जून, फूल, शिशिर, चिसो, घाम, आकाश, बादल, दिनरात, तुवाँलो, क्षितिज, अँध्यारो, उज्यालो, हिउँ, वर्षा, साँझ, सिरेटो, आगो, गोधूलि, शिशिर, तारा, माछा, भ्यागुतो, बगैँचा, तारा, इन्द्रेनी, गुँरास, पहाड, शिरीष, बिहान, जुनेली, उन्यू, वनपखेरा, जङ्गल, साँप, पूर्णिमा, शीत, आँसु, हिउँद, पात, खोला, साँझ, खहरे, पसिना, शरद, ऐँजेरु, समुद्र, हावा, गर्मी, पहिरो, निद्रा, ओैँसी, मखमली, भूकम्प, हुरी, झरी, बिहान, शीतल, लालीगुँरासलगायतका प्रयुक्त बिम्बलाई सशक्त रूपमा चित्रित गर्नुभएको छ ।






