काठमाडौं
असोज २४ ।
चलचित्र ‘महापुरुष’ टिम मोफसल टुरमा निस्कने भएको छ । चलचित्रको प्रदर्शन मिति ११ कात्तिक नजिकिँदै गर्दा निर्माण युनिटले प्रचार प्रसारका लागि प्रमोशनल टुर गर्न लागेको हो ।
टुरमा चलचित्रका कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीका अलवा कमेडियन सुमन कार्की र गायक निशान भट्टराई रहनुहुनेछ । केही स्थानमा मदनकृष्ण श्रेष्ठ पनि सहभागी हुने तालिका छ ।
टुर असोज २५ मा विर्तामोडस्थित वान स्टप मल, असोज २६ इटहरीमा जनता प्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, असोज २७ मा हेटांैडाको हुप्र चौर, असोज २८ मा नारायणगढको नारायणी नदी किनार, असोज २९ मा बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्स अगाडि र असोज ३० मा पोखराको हलन चोकमा हुनेछ ।
सामाजिक विषयवस्तुमा आधारित फ्यामिली ड्रामा यो चलचित्रमा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ ।
यो चलचित्रमार्फत अरुण क्षेत्री र अञ्जना बराइलीले अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ । प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र षट्कोण आर्ट्स प्रालिको व्यानरमा निर्माण भएको हो । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता दिपेश खत्री हुनुहुन्छ ।






