काठमाडौं,
असोज १६ ।
बडादशैंको सातौ दिन आज फूलपाती । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार आज आइतबार घरघरमा फूलपाती भित्रयाउँदै छन् ।
फुलपातीको शुभ साहित आइबार बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ । तर, सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ ।
फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौंको जमलसम्म ल्याउने गरिन्छ । गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्रयाउने चलन छ ।
आजै काठमाडौंका नेवार समुदायका घरघरमा विश्वकर्मा तथा विद्याकी देवी महासरस्वतीको पूजा हुन्छ । त्यस क्रममा पुस्तक, कापी, कलम, ज्यावल, मेसिनरी सामग्रीहरु, कोदाला, हँसियालगायत स्थापना गरी पूजा गरिन्छ ।
घटस्थापनाका दिनदेखि नै दशैँ सुरु हुने भए पनि दशैँको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय पनि बन्द हुने भएकाले मूलघर भन्दा पर रहेकाहरू घर फर्कने भएकाले पनि आजको दिनबाट दशैँको विशेष रमाइलो सुरु हुन्छ । तर, यो बर्ष फुलपातीको अघिल्लो दिन शनिबार परेकाले घर जानेहरू हिजैबाट आफ्नो गन्तव्यतिर लागिसकेका छन् ।






