पोर्तुगलमा वृहत् तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

लिस्वन,
भदौ १७ ।

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा नेपाली नारी समाज, पोर्तुगलले ‘वृहत् तीज विशेष साँस्कृतिक कार्यक्रम’ सम्पन्न गरेको छ । लिस्वनको मुटु मानिने मार्टिम मुनिज पार्कमा रास्ट्रिय कलाकारहरूको साथमा कार्यक्रम सम्पन्न गरेको हो ।

राष्ट्रिय लोकदोहोरी गायक भगवान भण्डारी, गायिका देविका केसी, गायक जेवी ओली र गायिका हिरा थापाको साथमा पोर्तुगलमा रहेका नेपालीहरू झुमेका थिए । गायिका देविका केसीले गाएको ‘भन्देउन कुन चाहिँ राम्री हामी दुईमा’बोलको गीतमा दिदीबहिनी मज्जाले झुमेका थिए । त्यस्तै भगवान भण्डारी स्टेजमा आउना साथ दिदीबहिनीहरूले उहाँसँगै गाएर भरपुर मनोरञ्जन लिएका थिए ।

कोरोना कहरले गर्दा दुई वर्ष पार्कमा कार्यक्रम गर्न नपाएता पनि पुनः यो वर्ष पार्कमा गरिएको समाजले भव्यताका साथ कार्यक्रम सम्पन्न गरेको हो ।

पोर्तुगलमा पहिलो पटक पार्कमा कार्यक्रम गर्ने शुरूवात नेपाली नारी समाजले गरेको कार्यवाहक. अध्यक्ष गीता रेउलेले जानकारी दिनुभयो । मौलिक धर्म, सँस्कार र सँस्कृतिको संरक्षण गर्दै मौलिकतालाई जोगाउदै आइरहेको समाजले हरेक वर्ष तीजलाई वृहत् तरिकाले मनाउँदै आइरहेको छ । विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि परम्परा संरक्षण गर्नको लागि कार्यक्रम गरिएको समाजले जनाएको छ ।

पोर्तुगलमा रहेका नेपाली दिदीबहिनीको माइतीको आँगन बन्दै आइरहेको नेपाली नारी समाजले गरेको कार्यक्रममा करिव एक हजार नेपाली तथा विदेशीहरूको सहभागिता रहेको समाजकी महासचिव पुनम गौतमले जानकारी दिनुभयो ।

हरेक वर्ष जस्तै यसवर्ष पनि समाजले तीन जना आमाहरूलाई खादा लगाएर सम्मान गरेको थियो । ८५ बर्षिय आमा नाङसाङ गुरुङ प्रमुख अतिथी रहनुभएको औपचारिक कार्यक्रममा पोर्तुगलका लागि नेपाल सरकारका पर्यटनदुत रमेशकुमार गुरुङ, गैरआवासीय नेपाली संघ युरोप शाखाका युवा उप-संयोजक रोवर्ट लिम्बू, एन आर एन पोर्तुगलका अध्यक्ष रवीन अधिकारी, जनजाती महासङ्घ पोर्तुगलका अध्यक्ष हेम गुरुङ, पुर्व आइसीसी सदस्य सफल व्यवसायी तथा समाजसेवी नरेन्द्र हमाल, एन आर एन ए पोर्तुगलका भुतपुर्व अध्यक्ष तथा सफल व्यवसायी लक्ष्मीप्रसाद सापकोटा, सूचना तथा सञ्चार विभागका केन्द्रीय सदस्य चिजकुमार तामाङलगायत पोर्तुगलमा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरूको उल्लेख्य सहभागिता थियो ।

प्रमुख अतिथि गुरुङले नारी समाजले गरेको कार्यक्रम भव्य र सभ्य रहेको बताउदै तीजको शुभकामना दिनुभएको थियो । कार्यक्रमलाई सफल बनाउन पोर्तुगलमा रहेको चितवन र लम्जुङ समाजले पानी वितरण गरेको थियो भने समाजसेवी तथा दर्शन नेपाल परिवारले फलफूल वितरण गरेको थियो । त्यस्तै कार्यक्रम अवधिभर नेप परिवारले स्वयंसेवकको भूमिका निर्वाह गरेको थियो । पोर्तुगलमा रहेका व्यवसायी तथा समाजसेवीहरूले आर्थिक सहयोगसमेत गरेका थिए । महासचिव पुनम गौतमले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रम समाजकी कार्यवाहक अध्यक्ष गीता रेउलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार