काठमाडौं,
साउन ४ ।
स्रष्टा सूब खत्रीले लेखेको ‘सहिदलाई सलाम’ स्वदेश गीतको सँगालो बजारमा आएको छ । भृकुटीमण्डपस्थित वाल्मीकि विद्यापीठमा मंगलबार उक्त कृतिको विमोचन गरिएको हो । वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल, उपप्राध्यापक डा. बालाकृष्ण अधिकारी, समालोचक तथा उपप्राध्यापक तेजविलास अधिकारी, कलाकार देवेन्द्र थुम्केली, हेमसागर, सुइच्छा खत्री, स्रष्टा सूब खत्रीलगायत उक्त कृतिको संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।
वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. ढकालले विमोचित कृतिमा देशभक्ति, प्रकृतिप्रेम, मातृभूमिप्रतिको अगाध प्रेम रहेको बताउनुभयो । उहाँले आफ्नो गाउँठाउँ, माटो र परिवेशलाई कलात्मक ढंगले स्रष्टाले कृतिमा चित्रण्च गरेको बताउँदै भन्नुभयो, ‘कृतिमा आकर्षक भाषामा देशप्रेम, प्रकृतिप्रेम, माटोप्रतिको अगाध मायालाई प्रस्तुत गरिएको छ ।’ प्रा.डा. ढकालले कर्म गरौं भन्ने भावना कृतिमा रहेको जनाउँदै स्रष्टाको सिर्जनशील यात्राको सफलताको कामना व्यक्त गर्नुभयो । उहाँले कृतिमार्फत सहिदलाई सम्झिएर राष्ट्रप्रति अगाध प्रेम दर्शाएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा समालोचक डा. बालाकृष्ण अधिकारीले सरल भाषामा स्वदेश गीतमार्फत देशलाई स्रष्टा खत्रीले सम्झिएको बताउनुभयो । उहाँले देशको माटो, स्वाभिमान, नागरिकप्रतिको कर्तव्य, दायित्व, पहिचान लगायतका देशप्रतिको अनुभव यस कृतिमा आएको जिकिर गर्नुभयो । डा. अधिकारीले भन्नुभयो, ‘सरल भाषा र सामान्य कथनमा गहिरा भाव प्रकट गर्ने यी गीतहरू आधुनिक नेपाली स्वदेशगीत लेखनपरम्परामा महत्वपूर्ण छन् । यिनले स्वदेश र विदेश जहाँ रहेपनि सम्पूर्ण नेपाली जातिलाई नेपाल, नेपालीपन, नेपाली माटो, नेपाली भेष, नेपाली प्रकृति, नेपाली संस्कृति, नेपाली सौन्दर्य र नेपाली सभ्यताप्रति प्रेम गर्न र देशका लागि हाँसीहाँसी शहादत रोज्ने आदरणीय सहिदप्रति सच्चा सम्मान गर्न अभिप्रेरित गर्दछन् ।’ उहाँले नेपालमा रहेका असुन्दर, विकृत र असंगत पक्षलाई हटाएर विकासको अग्रगतिमा लम्कनुपर्दछ भन्ने वैचारिकता यी गीतहरूमा अन्तर्निहित भएको बताउनुभयो ।
समालोचक तेजविलास अधिकारीले देश र माटोप्रति स्रष्टाले कलात्मक ढंगले कलम चलाएको बताउनुभयो । कृतिमा देश विकास, प्रकृति संरक्षण, नागरिक कर्तव्य र दायित्व लगायतका विषय सबल रुपमा आएको बताउँदै उहाँले देशप्रतिको मायाले ओतप्रोत स्वदेश गीतले नेपालीपनलाई उजागर गरेको सुनाउनुभयो । अधिकारीले भन्नुभयो, ‘देश र नागरिकको कर्तव्यलाई स्रष्टाले कलात्मक रुपमा चित्रण गरेको पाइन्छ ।’
कृतिकार सूब खत्रीले देशप्रेम, प्रकृति र मातृभूमिप्रतिको मायालाई गीतमार्फत प्रस्तुत गर्न खोजेको सुनाउनुभयो । उहाँले विदेश बस्दा पहिले लेखेका राम्रा लागेका राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत छानेर कृतिका रुपमा प्रकाशन गरेको बताउनुभयो । ‘जुन परिस्थितिमा रहँदा पनि देशका लागि केही न केही योगदान र सिर्जना गर्नुपर्छ भन्ने भावना आइरहन्थ्यो । यही परिवेशमा आफूले विद्यार्थी कालमा रचना गरेका कविताका फाइलहरूको खोजी गरेँ,’ खत्रीले भन्नुभयो, ‘ती कवितामध्ये स्वदेशगीतहरूको संख्या बढी देखियो साथै वर्तमान र भविष्यमा पनि देश र समाजका लागि थोरै भए पनि योगदान हुन्छ भन्ने लाग्यो अनि प्रकाशनको तयारीमा लागेँ । त्यसैको फलस्वरुप यस कृतिले सार्थकता पायो ।’
प्रकाशक सुइच्छा खत्रीले संग्रहमा रहेका सबैजसो गीत राष्ट्रिय भावनाले ओतप्रोत रहेको जिकिर गर्नुभयो । उहाँले संग्रहमा रहेका रचना अत्यन्तै कलात्मक प्रस्तुति, स्वदेशी गुञ्जन र नेपाली माटाको हरक आउने खालका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस कृतिलाई पाठकहरूले अत्यन्तै रुचाइदिनुहुने छ भन्ने विश्वास लिएका छौं ।’ बागलुङ गल्कोटमा २०२६ सालमा जन्मिनुभएएका सूब वैदेशिक रोजगारीका सिलसिलामा विगत डेढ दशकदेखि जापानमा बसोबास गर्दै आउनुभएको छ । विज्ञान र शिक्षा विषयमा स्नातक गरेपछि लगभग डेढ दशकसम्म शिक्षण पेसा अँगालेर उहाँ जापान जानुभएको थियो ।






