काठमाडौं,
असार २२ ।
तिहारको अवसर पारेर आगामी ४ कात्तिकमा रिलिज हुने नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको हो ।
चलचित्रका निर्देशन रिमेश अधिकारीका अनुसार चलचित्रको आगामी २४ सेप्टेम्बरमा अस्ट्रेलियामा प्रिमियर हुनेछ । फिल्म प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा.डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा।.दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र के.सी., पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग छलफल र नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रही बनाइएको हो ।
चलचित्रको अनुसन्धान तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, सरिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।
रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लि., वीर गोर्खाली फिल्मस प्रा.लि., गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्रमा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन विपीन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, सङ्गीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ ।
चलचित्रका एशोसियट निर्माता सपन कुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।






